“योगी र आम मानिसले जीवनमा सबैभन्दा बढी के चाहन्छ ?” चेलाले गुरुलाई जिज्ञासा राखे ।

गुरुले उल्टै प्रतिप्रश्न गरे, “दुनियाँले के चाहन्छ भन्दा पनि तिमी जीवनमा सबैभन्दा बढी के चाहन्छौ ?”

चेलाले टाउको कन्याउँदै भन्यो, “खै गुरु ! हिजो म जे चाहन्थे, आज त्यो चाहन्न, आज जे चाहन्छु सायदै भोली चाहन्छु होला !”

चेलाको जवाफ सुने पछि गुरुले अर्को प्रश्न सोधे, “के तिमी जीवनको अर्थ बुझ्न चाहँदैनौ ? जीवनमा पैसा, शान्ति, स्वतन्त्रता, इच्छा र आकाङ्क्षाहरूको पूर्ति होस् भन्ने तिम्रो चाहना छैन ?”

यस्तो चाहना आफ्नू मात्र होइन सबै मानिसको हुने कुरा चेलाले गुरुलाई बताउँदै अघिल्लो प्रश्नको जिज्ञासा  मेटाउन गुरुलाई अनुरोध गर्‍यो ।

गुरुले भने, “योगी वा महात्मा र आम मानिसमा यहीँनेर फरक छ । योगीमा सबै थोकलाई निष्पक्ष रूपमा हेर्ने बुद्धि हुन्छ । जीवनमा आउने सुख-दुःख, आरोह-अवरोह, हर्ष-पीडाहरूलाई सम भावले हेर्नु नै उनीहरूको विशेषता हो भने आम मानिस बाहिरी कुराको प्राप्तिमा केन्द्रित हुन्छ र यो असल त्यो खराब, यो उच्च त्यो नीच र यो मेरो त्यो तेरो मा नै अल्झिरहन्छ । जसले गर्दा ऊ समबुद्धिको सर्वोच्च स्तरमा पुग्नै सक्दैन ।”

चेलाले फेरि जिज्ञासा राख्यो, “उसो भए योगीको कुनै चाहना हुँदैन त ?“

“महासमाधि ! योगी वा महात्माले बाहिरबाट प्राप्त गरेको सबै चिज हराउन चाहन्छ  ।”  गुरुले यसो भनिरहँदा उनका आँखा बन्द थिए ।