जमीलाल अटो चालक थियो । पृथ्वीपतिको घरै छेउको ऐलानी जमिनमा उसको कटेरो थियो । छिमेकीलाई पर्दाका जन्ती र मर्दाका मलामी भन्दछन् जन्ती जान र भतेर खान त बोलाए न जानु ।
पृथ्वीपतिले दुई छोरा र एक छोरीको बिहे राजकीय ठाँटाका साथ सम्पन्न गरेका थिए । उनका छोराछोरीको बिहे टोलमा चर्चाको विषय हुने गर्दथ्यो । कोहलपुरमा रहेको एक मात्रै पाँचतारे होटलको बिहे,गनिएका उद्योगपति चर्चा नचल्ने त कुरै भएन । हरेक पटक सुट र टाई नभएकै कारण जमीलाल भतेरमा बोलाइएको थिएन । जमीलाललाई गरिबीले बिहे खान त दिएन नै हेर्नसम्म पनि छुट दिएन ।
पृथ्वीपति एक्कासी बिरामी पर्दा हेलिकप्टर उनैको घर नजिक बस्यो । हेलिकप्टर यति नजिकबाट पहिलोपटक देख्यो जमीलालले । बाल्यकालमा सुनेको जहाजको कथा सम्झ्यो । हेलिकप्टर छुन मन लाग्यो तर नजिक पर्नसम्म पनि दिइएन । पृथ्वीपति बिरामी पर्दा सहयोग गर्ने मौका पाएको भए हेलिकप्टसम्म जान पाउँथ्यो । एक महिनापछि पुनः हेलिकप्टर आइपुग्यो यसपटक बल गरेर नजिकै जान्न खोज्यो झन् पृथ्वीपतिको नै खप्की खायो ।
वल्लो गाउँ पल्लो गाउँ हुँदै कोरोना आफ्नो गाउँटोलसम्म आइपुग्यो एक पछि अर्को गर्दै कोरोनाका सिकार हुँदै थिए छिमेकीहरू । जमिलाल पनि बिरामी भर्यो । एम्बुलेन्स घरसम्मै आयो । पहिलोपटक एम्बुलेन्स चढेर जमिलाल आइसोलेसन कक्षमा पुग्यो । चौथो दिनबाट सुधार हुन थाल्यो उसलाई । छैठौं दिन अटो चढेर पृथ्वीपति पनि जमिलाल बसेकै हस्पिटलको आइसुलेसनमा आइपुगे । सामान्य विरामी हुँदा समेत हेलिकप्टरमा ग्रेण्डी र नर्भिकसम्म पुग्ने पृथ्वीपतिले यसपटक अटो समेत मुस्किलले पाए । जमिलालका छोराले छिमेकीका नाताले कोहलपुर मेडिकल कलेजसम्म आफ्नो अटोमा पुर्यायो ।
नजिकैको तीर्थ हेला भनेझैँ सधै हेयका दृष्टिले हेर्ने मेडिकल कलेज काहलपुरको आइसोलेसन कक्ष पृथ्वीपतिको उपचारको अन्तिम विकल्प बन्यो । दशौं दिनसम्म पृथ्वीपति र जमिलाल एउटै आइसुलेसनमा बसे । यो बसाइमा पृथ्वीपतिले जमिलाललाई राम्रोसँग चिने । पट्यारलाग्दा दिनहरू जमिलालको सहयोगमा कटाए उनले । खान, बस्न, औषधिमुलो र रेखदेख पृथ्वीपति र जमिलाल बीच समान थियो । तेस्रो पटकको परीक्षणमा जमिलाल कोरोना भाइरसबाट मुक्त देखियो ।
पृथ्वीपतिको दोस्रो परीक्षण भयो । उनी फेरि कोरोना पोजेटिभ देखिए । पृथ्वीपति आत्तिए । घर फिर्ता हुने तयारी गर्दै बिदा माग्न पुगेको जमिलालले पृथ्वीपतिलाई सम्झायो । पृथ्वीपतिका आँखा रसाए । शिघ्र स्वास्थ्य लाभको कामना गँदै जमिलाल कोठाबाट निस्कियो । पृथ्वीपतिले टाढै पुग्दासम्म जमिलाललाई हेरी मात्र रहे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।