कोरोनाको कारण उनी घरबाट ननिस्केको धेरै दिन भइसकेको थियो । उनी अरुको घर पनि जाँदैनथे र चाहन्थे अरु कोही पनि उनको घरमा नआइदिए हुन्थ्यो । उनको भुइँतला मात्रको चारकोठे घर थियो जसमा अघिल्तिरको एउटा कोठालाई बैठक कोठा बनाएका थिए । अचानक उनको आँगनमा एउटा नौलो मान्छे देखापर्यो र “तपाईंसँग भेट्ने काम छ” भन्यो ।

रामबाबु घिमिरे

उनले त्यो मान्छेलाई भित्र आउन भने । त्यो मान्छेले “ढोकामा राखिएको साबनपानी हटाउनोस्” भन्यो ।

उनले भने, “साबनपानी ढोकाको छेउमा छ, ढोका त पुरै खुला छ, त्यसले बाधा नपार्ला ।”

उसले भन्यो, “आउन त बाधा छैन तर साबुन पानी देखेपछि मेरो साइत नै बिथोलिन्छ ।”

उनले कसैलाई कुनै चीज देख्दा साइत नपर्ने अनि कसैलाई कुनै, होला पनि भन्ठानेर सावन पानी हटाए ।

ढोकाबाट पस्नासाथ टेबुलमा राखिएको सेनिटाइजर देखाउँदै भन्यो, “यसलाई पनि हटाउनुहोस्, मलाई यसको गन्धै मन पर्दैन, एलर्जी हुन्छ ।”

कसैकसैलाई हुन पनि सक्छ भन्ने सोचेर उनले सेनिटाइजर पनि हटाइदिए । त्यसपछि सोफामा बस्दै भन्यो, “आजकल त सार्वजनिक ठाउँमा देखा पर्नै छाड्नुभयो, त्यतैकै भेटौंला भन्ने सोच्दै थिएँ । उनले “कोरोनाले गर्दा ….” मात्र भन्न भ्याएका थिए, ऊ मुसुक्क मुस्कुरायो ।

उसले भन्यो, “के मास्क लगाइरहनु भएको, यसरी कुरा गर्दा पनि । पछि भेट हुँदा मैले तपाईंलाई चिन्न पनि सक्दिन यसरी त ।”

उनले मास्क च्यापुमा ल्याए । उनले थर्मसबाट तातो पानी गिलासमा खन्याउँदै तातो पानी पिउने कि भन्दा “मलाई तातो पानीले बिगार गर्छ” भन्यो । उसले भन्यो, बैठक कोठामा हामी दुई मात्र छौं, नजिकै बसेर भलाकुसारी गरौं, नातेदार र साथीहरूसँगजस्तै । उनले सतर्क हुँदै भने, “भौतिक दूरी त कायम गर्नु पर्यो नि ।”

उसले मुख खुम्च्याउँदै भन्यो, “यसपटक हामी बीच भलाकुसारीको उपयुक्त अवस्था देखिएन, मौका मिले पछि भेटौंला ।”

ऊ ढोका बाहिर निस्कनै लाग्दा उनले सोधे, “मैले यहाँलाई त चिन्न सकिन नि ।” उसले रोवदार स्वरमा भन्यो, “महोदय ! मलाई चिन्न सूक्ष्मदर्शी हुनुपर्छ ।”