धेरैपछि एउटा पुरानो अतित मेरो सामु सजीव बनेर आयो । फेसबुकले बिर्सिसकेको यादलाई फेरि ताजा बनाइदियो । करिब १४ वर्षपछि भिडियो कल गर्दा मैले पहिलोपटक उसको अनुहार स्क्रिनमा देखेँ । उसको जीउडाल हल्का बाक्लिएको भए पनि भावभंगी, मुस्कान र चेपारो पार्ने तरिकामा बिल्कुल अन्तर थिएन ।

नेपाल रानाभाट “सुवोध”

“माइगड ! कहाँ थियौ अहिलेसम्म ? तिमीलाई कहिल्यै मेरो याद आएन है ? कति धेरै स्वार्थी र निष्ठूरी रहेछौ तिमी त । म भने तिमीलाई कहाँ मात्रै खोजिन । कतिजनासँग सोधेँ तिम्रो बारेमा । तिमी कहाँ छौ । के गर्दैछौ कस्तो बिहे गर्यौ । बालबच्चा कति भए । म सप्पै ख्याल गर्छु तिम्रो तर तिम्लाई भने मेरो केही मतलब छैन है ।” पहिलो भिडियो कलमा एकै सासमा उसले यो सबै भनिसिध्याई । म चूपचाप थिएँ । केही जवाफ दिन सकिरहेको थिइन । के बोल्ने के नबोल्ने अलमलमा थिएँ ।

उसको बोली सकिएपछि मैले भने “सम्झना त हुन्छ नि । नभए फेसबुकमा कसरी भेट हुन्थ्यो त । छोडिदेऊ यी सबै कुरा । अब भन तिमीलाई आरम त छ नि ? अनि कहाँ के गर्दैछ अहिले ?” ऊ अलि सम्हालिएर भनी,“ अँ हेर न बिहे भैहाल्यो । अनि उसले जापान जाने चाँजोपाँजो मिलायो । १२ वर्ष उतै बसेर अलिकति जम्मा भएको पैसाले काठमाडौँमा एउटा घर बनाएका छौं । बैंकहरूमा शेयर छ म चाहि एउटा सहकारीको म्यानेजमेण्ट हेर्ने गरेको छु ।”
मैले भनेँ “ल ठीक छ । यो भिडियो कलमा धेरै कुरा नगरौं । हामी दुबैको परिवार छ यो संवादले हाम्रो पारिवारिक जीवनमा कुनै समस्या आउनुहुँदैन । बरू कुनै दिन मेरै अफिसमा बसेर कफि पिउँला । अहिलेलाई बिदा हौँ है त ?” मैले फोन राखिदिएँ । उसले तुरून्तै कल ब्याक गरी मैले उठाइन । अफिसको कामले अलि व्यस्त पनि थिएं । सायद उसलाई गफ गर्ने धोको पुगेको थिएन होला । मैले म्यासेज गरिदिएँ, “प्लिज म अहिले व्यस्त छु कुनै अर्को दिन कुरा गरौँला ।” जवाफमा उसको लामो रिप्लाइ आयो । म्यासेजमा हल्का माया अलि बढी घुर्की र निकै धेरै तिर्सना थियो । सर्सर्ती पढें र डिलिट गरिदिएँ ।

मेरो प्रोफाइलमा हरियों बत्ती बल्नै हुँदैनथ्यो । जुनसुकै बेला टिंग टिंग म्यासेजको आवाज आउँथ्यो । तुरून्तै रिप्लाई गरेन भने भिडियो कल झ्याप्पै । उमेरले ४० काटिसकेको थियो । न प्रेम गर्न सुहाउने न डेटिंग जान । बिलखबन्दमा परेँ म । अब यो सम्बन्धको व्यवस्थापन कसरी गर्ने होला ।

एकदिन शुक्रबारको दिन पारेर अफिसबाट सिधै बीच बजारको रेष्टुरेण्टमा भेट्ने योजना बन्यो । धेरैपछि भौतिक शरीर नजिक हुने क्षण स्वाभाविक रूपमा कौतुहुलता त हुने नै भयो । म पुग्दा रेष्टुरेण्टको क्याविन कर्नरमा ऊ पहिल्यै विराजमान थिई । हल्का मुस्कानले मलाई स्वागत गरी । म उसको सामुन्नेमा बसें । उसले अगलबगलमा संगै बस्ने आग्रह गरी । मलाई अप्ठ्यारो लाग्यो । तर उसको जोडमा मेरो केही लागेन । मेनु हेरेर अर्डर पठाइयो । उसको शरीरको प्रफ्यूमले मलाई भाउन्न बनाइरहेको थियो । श्रीमानको कल आयो, “अफिसको मिटिंगमा छु । अलि ढिला हुन्छ होला भनेर सम्झाई ।” हाम्रो भलाकुसारी सुरू भयो । यत्तिकैमा फेरि उसको मोबाइलमा फरक ट्यूनको घण्टी बज्यो । ऊ आश्चर्यमिश्रित आवाजमा बोल्दै थिई माइगड, आज फ्राइडे हो र । मलाई त यादै भएन यार । ल ल म तुरून्तै आउँछु । विस्फारित आँखाले म तिर हेर्दै भनी, “ मलाई एकजना साथीसंग अर्जेन्ट काम पर्यो । माइन्ड नगर्नु ल । सरी फेरि कुनै अर्को दिन भेटौंला नि ।” ऊ हतार हतार मोबाइलमा कुरा गर्दै बाहिर निस्की ।

मेरो अाँखाले उसको बाटो पछ्याउँदै थियो । यस्तैमा वेटर दुबै जनाको लागि अर्डर गरेका परिकारहरू लिएर सामुन्नेमा ठिंग उभियो । टेवलमा राखिएका छरपष्ट परिकारहरू देखेर म स्तब्ध भएँ । हो त्यो दिन उसको मोबाइलमा बजेको फरक ट्युन मेरो कानमा अझै पनि बजिरहेको भान हुन्छ ।