बाँदरहरूको सभा चलिरहेको थियो । सभामा प्रस्तावहरू पेस भैरहेका थिए । सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका बाँदरहरूले आआफ्ना धारणा राखिरहेका थिए ।

एउटा बाँदरले भन्यो, “मानिसहरूले जङ्गल मासे, हाम्रो वासस्थान जोखिममा पर्‍यो, खानाहरू खान नपाइने भयो । अब हामी गाउँतिर पस्न र बस्न पाउने नियमकानुन बनाऊँ ।”

अर्कोले झन् कडासँग भन्यो, “हामी गाउँ पस्ने मात्र होइन, गाउँका मान्छेका खानाहरू खोसेर खाऊँ, मान्छेले हामीलाई लघार्न खोजे भने

मान्छेलाई नै चिथोर्ने गरी कडा कानूनको व्यवस्था गरौँ ।”

तेस्रो बाँदरले चाहिँ अलि नरम भाषामा भन्यो, “यो खोस्ने र चिथोर्नेभन्दा बरु विदेशीसँग अनुदान मागेर खाऊँ न । कसो होला ?”
चौथो बाँदर बोल्न अगाडि सर्‍यो, उसले भन्यो– “हामी अरूको वासस्थानमा जाने, खानाहरू खोसेर खाने, विदेशीसँग अनुदान माग्नेभन्दा बरु

अलि ठूलो जङ्गलतिर जाऊँ र मान्छेले जस्तै घर बनाएर बसौँ ।” यस्तो प्रस्ताव राख्ने बाँदर सत्ताधारी थियो ।

घर बनाउने प्रस्ताव आउनासाथ बाँदरको विपक्षी दलको प्रभावशाली नेताले नियमापत्ति गर्‍यो । उसले कडा स्वरमा भन्यो, “बाँदरहरू घर बनाउँदैनन् । घर बनाउनु हाम्रो प्रजातिको धर्म विपरीत हुन्छ ।”

सत्ता पक्षकै अर्को एउटा बाँदर अगाडि सरेर घर बनाउनुहुन्न भन्ने बाँदरहरूको मतको खण्डन गर्दै भन्यो, “तिमीहरू नबनाए नबनाओ न, हामी बनाउँछौँ । इच्छा लाग्नेले बनाउने, इच्छा नलाग्नेले नबनाउने । बरु इच्छामा भर पर्ने प्रस्ताव पारित गरौँ ।”

मत बाझिएर सभा तातिरहेको थियो । प्रतिपक्षको संसदीय दलको नेता बाँदर नै बोल्न अगाडि सर्‍यो, “खबरदार ! हामी आफू पनि घर बनाउँदैनौँ र तिमीहरूलाई पनि घर बनाउन दिँदैनौँ । तिमीहरूले जबरजस्ती घर बनायौ भने हामी भत्काइदिन्छौँ ।”

सभामा चर्काचर्की बहस हुँदै थियो । छेउतिर केही बाँदरहरू बीच कानेखुसी पनि चल्दै थियो । सत्तापक्षका केही बाँदरहरू प्रतिपक्षतिर नै मिल्न गए । एकैछिनमा बाँदरहरूको बहुमत आफू पनि घर नबनाउने र अरूलाई पनि घर बनाउन नदिने भन्नेमा भयो ।

आफ्नो पहिचान सुरक्षित राख्न सकेकोमा बाँदरहरू दङ्ग थिए ।