“हेल्लाे,” अपरिचित कल उठाएँ ।
“तैले भुलिस्, तँलाई सडकबाट उठाउने म हाे, हर गतिविधिमा सँगै थियौँ, राजनीतिमा एक्लै ।”
फाेन काटियाे, धम्कीपूर्ण शब्द बुझिनँ तर मनमनै गमेँ । च्याँसेले त हो, चाेरेर भाेकसँग लड्न सिकाएको । पढ्न जान छाेडेर भागेको म ।
चाेर्दाचाेर्दै प्रहरीले तस्करी सिकायाे । ऊ तस्करीकै पैसाबाट प्रहरी उपरीक्षकसम्म बन्यो ।
तस्करीमा सुन, लत्ताकपडा, जनावरका छाला, हातहतियार सबै । एक महिला सीमा कटाउँदा २ लाख हात परेपछि त्यतै आकर्षित भयौँ ।
केटीहरु हिराबाईसम्म पुर्याउने काम मिल्यो ।
उमेर, सुन्दरताले १०/१५ लाखसम्म आउँथ्याे मुम्बईमा ।
कामले न्यायाधीश, नेता, कर्मचारीसम्मकाे सञ्जाल खडा भयाे ।
सञ्जालकै हर्के पार्टी अध्यक्ष भएपछि मलाई राष्ट्रिय सभामा मनाेनित गरेछ, म अक्क न बक्क थिएँ ।
उसले नै राजनीतिक जालझेल, षड्यन्त्र, अराजक क्रियाकलाप, भ्रष्टाचार गर्न सिकायाे ।
हिस्सा दिन जानेपछि गृहमन्त्री भएँ ।
फाेनकाे घण्टीले झस्केँ म । “हेरिसियाे न छाेरी विद्यालयबाट आइन,” घरबाट फाेन आयाे । काठमाडौंमा झण्डै १० करोड जतिमा घर बनाएको मैले, आउँछे, भर्खर छुट्टि भा हाेला, भन्दै फाेन राखेँ ।
झण्डै ७ बजेतिर गृहसचिवकाे फाेन आयाे, “छाेरी खाेज्दैछौँ व्यस्त हाेइसिन्छ कि सर !”
राेमान्टिक हुँदै नाङ्गिरहेकाे मैले युवती धकेलेर फाेन गर्दै होटेलबाट घरतिर हिडेँ ।
प्रहरी, सशस्त्र प्रहरीकाे फाैज खाेजीमा रहेछ । १० कक्षामा पढ्दै गरेकी परिवारकै एक्लाे सदस्य हराउँदा तीन दिनदेखि मन्त्रालय गइनँ ।
चाैथाे दिन अपरिचित भारतीय नम्बरबाट फाेन आयाे । श्रीमतीले स्पिकर अन गर्दै उठाइन् । दुवैले सुन्यौं ।
“हेल्लाे वीरु, ठीक है ? इधर भुल गया क्या ? मन्त्री जाे हुआ, हमे ताे याद आया ।”
अझ थप्दै काेठीकी हिराबाईले भनी, “तेरे लिए मैने कमाके दिया, अब तेरी बेटी मेरेकाे कमा के देगी ।”
श्रीमती भुईमा बजारिन पुगिन्, म उसैमाथि ।
नारायणगढ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।