साझा तीर्थ

टोलका मानिसहरू विभाजित भए । कोही मन्दिर धाउन थाले । कोही चर्च धाउन थाले । कोही मस्जिद धाउन थाले । आपसमा झगडिएर एकअर्कालाई कर्के नजरले हेरेर हिँड्न थाले ।

“हाम्रो ईश्वर महान् !”

ईश्वरको महानता र रूपरङ समेतमा बहस भयो। दिनभर भनाभन, तानातान र हानाहान पनि भयो। कसैका नाक भाँच्चिए। कसैका ताँत भरे । कसैले मन्दिर तोडे । कसैले मस्जिद फोडे । कसैले चर्च ध्वस्त पारे । कसैले गुम्बामा बम हाने

एकले अर्कालाई थुकिरहे ।

दिनभर शक्तिप्रदर्शन भइरह्यो ।

यस्तो देखेर मेरो मन खिन्न भयो । साँझ मनको गम मेटाउन पिपलबोट रेस्टुरेन्टमा छिरेँ । त्यहाँ त, बिचको ठुलो टेबुलमा दिउँसो भिड्नेहरू गिलास ठोक्काएर चियर्स गर्दै थिए ।

‍‍—-

थाल

टन्टलापुर घाममा हामी बसेरै मकै गोड्दै थियौँ । मकैका बोट साना र झार ठुला थिए। बेलाबेलामा चिसो बतासले पसिना पुछिदिन्थ्यो । पटकपटक उङ लाग्थ्यो ।

“तेरो थाल मैले लग्या छैन के ।” बिना मेसै उसका मुखबाट एक्कासि आबाज फुत्क्यो ।

ऊ आफैँ झस्क्यो र छिटो छिटो हात चलाउन थाल्यो । उसको अनुहार अमिलियो ।

मेरो मनमा कौतूहलको तुफान चल्न थाल्यो, ‘उसको मुखबाट यस्तो आबाज किन निस्क्यो ? कतै ?’

केही दिनअघि मेरो घरबाट काँसको थाल हराएको थियो। थालभन्दा पनि खाँचो ठुलो थियो। आँगन जोडिएको दाजु जस्तै छिमेकी उसप्रति कुनै शङ्का थिएन, तर बाहिरको कोही आएर एउटा थालमात्र टिपेर हिँड्यो होला भनी अडकल गर्न सकिने ठाउँ पनि थिएन। त्यसैले थाल त्यता पर्न गएको छ कि भनेर यस्सो के सोधेको थिएँ ऊ आगो भएको थियो। कसमका कसम खाएको थियो ।

म हैरान भएँ, ‘उसको मुखबाट यस्तो आबाज किन निस्क्यो ?’

म मेलो सकेर ऊभन्दा पहिले छिटो छिटो घर फर्के । अँध्यारोमा तीर चलाएँ, “भाउजू, दाइले भन्नुभको त्यो थाल दिने रे ।” “ए !”

भाउजू अरु केही नबोली भित्र पस्नुभो र थाल लिएर दैलोमा निक्लँदै भन्नुभो, “यी लिनुस् बाबु ।”

थाल ओल्टाईपल्टाई हेरेँ । मेरै थियो ।

—-

बा र अक्षर

बाले मेरो कापी हेरेर भन्नुभयो, “भएन बाबु, भएन । अक्षर चिटिक्कका, सिलित्त परेका, मोतीका दाना मिलाएर राखे जस्ता हुनुपर्छ । अक्षर राम्रा भएमात्र जीवनमा सफल भइन्छ ।”

“हस् ।” मैले मुन्टो हल्लाएँ ।

मैले प्रत्येक दिन लेखेँ, लेखेको लेख्यै गरेँ । केही दिनपछि अक्षर राम्रा भए भन्ठानेर मैले बालाई फेरि देखाएँ ।

बाले राम्रोसित हेर्दा पनि नहेरी भन्नुभयो, “भएन । अक्षर छापाका जस्ता हुनुपर्छ । चिटिक्कका, सिलित्तका, मोतीका दाना मिलाएर राखेका …”

मैले भनें, “हुन्छ बा, त्यसै गर्छु ।”

मैले अनेक प्रयास गरेँ । बा आफू त बाङ्गाटिङ्गा अक्षर लेख्नुहुन्थ्यो । मेरो कापी हेरेर भन्नुहुन्थ्यो, “अहँ भएन। अझ राम्रो बना।”

म दुखित भएँ। सोचें, ‘के यसभन्दा पनि राम्रा अक्षर बन्न सक्छन् ?’ तर मेरो कलिलो बुद्धिले भ्याउन सकेन । कति गर्दा पनि त्यसभन्दा राम्रा अक्षर बन्न सकेनन् । म चिन्तित भएँ ।

एक दिन क्लास टेस्ट सकेर घर फर्केको मात्र थिएँ, त्यसै बेला हातमा एउटा कापी लिएर बा पनि टुप्लुक्क आइपुग्नुभयो र त्यो कापी देखाउँदै प्रसन्न मुद्रामा अलिक चर्को स्वरमा कराउनुभयो, “हेर् यी, अक्षर यस्ता सफा, सुग्घर, चिटिक्कका, सिलित्तका र छापाका जस्ता हुनुपर्छ । अबदेखि यिनै अक्षर हेरेर लेख्ने गर् ।”

मैले बाका हातबाट त्यो कापी लिएँ र भनें, “बा, यो त मेरै कापी हो !”

—-

आँखा

म लुसुक्क आँगनका डिलमा उक्लें।

आमाले पिँडीबाटै भन्नुभयो, “नानी ! आज किन छिट्टै आयौ ? के भो तिमीलाई ? मुख पनि मलिनो छ ।”

म चकित भएँ । म आमाका काखमा पुगेँ । आमाले मेरो टाउको मुसार्नुभयो ।

मैले भनें, “स्कुलमा मेरो एउटा कापी हरायो । खोज्दा नपाएपछि म मेरो कापी कल्ले चोयो भनेर चिच्याएँ । नैना पछाडिको बेन्चमा थिई । उसले बेन्चमुनि देखाउँदै ‘आफ्नै खुट्टानेर भएको पनि नदेख्ने ! जस्ती आमा उस्तै छोरी !’ भनी । कापी मेरै रहेछ । अनि त म झोला टिपेर हिँडिहालेँ ।”

आमा केही बोल्नुभएन ।

मैले आमाका मुखमा हेरेर सोधें, “हजुर देख्न सक्नुहुन्न । म बिस्तारै आएकी थिएँ । कसरी थाहा पाउनुभयो ?”

आमाले मेरो म्वाइँ खानुभयो र भन्नुभयो, “तिम्रो दम्कोले थाहा पाइहाल्छु नि।”

मैले फेरि सोधें, “अनि मेरो मुख नि ?”

आमाले खिसिक्क हाँसेर भन्नुभयो, “तिमी सपना देख्छ्यौ ?”

“देख्छु ।” मैले ढुक्कले भनेँ ।

“आकासमा उडेको ? सहरबजार डुलेको ? मिठो मिठो खाएको ?” आमाले धेरै प्रश्न गर्नुभयो ।

“होहो । देख्छु, आमा ।” मैले भनें ।

आमाले फेरि सोध्नुभयो, “ल भन त कुन आँखाले देख्छ्यौ ?” म अलमल्लमा परेँ। मसँग यसको जबाफ थिएन ।

मैले आमालाई नै सोधें, “भन्नु न आमा ! म कुन आँखाले देख्छु ?”

आमाले भन्नुभयो, “मनका आँखाले । … हो, म पनि मनका अँखाले देख्छु ।”

—-

सावित्री

छिमेकी सत्यवान्‌को अकस्मात् निधन भयो ।

सावित्री सुँकसुकाउन थाली ।

यमदूतलाई देख्नेबित्तिकै उसले पुकारा गरी, “हे यमदूत ! एक्कै मिनेटका लागि मेरो सत्यवान्लाई ब्युँताइदिनुहोस् न प्लिज ।” यमदूतले भने, “हैट् । हुन्न । विधिको विधान !”

उसले बिन्ती गरी, “विधिको विधान म मान्दिनँ कहाँ भनेकी छु र ? बरु जे भने पनि मान्छु । एक्कै मिनेटका लागि ब्युँताइदिनुस् न प्लिज ।”

ऊ आफैँ यमदूतसित टाँसिन पुगी।

एकछिन सावित्रीको न्यानो तापेपछि यमदूतले यताउति हेरेर भने, “ल ल । एक मिनेट होइन, आधा मिनेट दिन्छु । हुन्छ ?”

“हुन्छ, प्रभु !” सावित्रीले हात जोडेर भनी ।

यमदूतले सत्यवान्लाई ब्युँताइदिए ।

सत्यवान्ले आँखा खोल्नेबित्तिकै सावित्रीले छातीमा घोप्टिँदै भनी “सत्य ! मोबाइल बैंकिङको पासवर्ड भन त । छिट्टो !”