खाकको थुप्रो वरपर टक्र्याकटुक्रुक बसेर  झोक्रिरहेका थिए वनका सारा जन्तुहरू !

भालु– समस्याले पनि एकै पटक घेर्दो रहेछ जिन्दगीमा ।

हात्ती– मैले साँघुरो ठाउँमा नबसौँ भनेको कसैको कानमा बतास पसेन ।

घोडा– बाजा बजाएर दैव किन आउँथ्यो र  ?

मयुर– हामी एक मनका भएर अलौकिक काम गरेको कसैलाई पचेन ?
गधा– त्यसैले त अपराधी पत्ता लगाउन अनुसन्धान थालौँ ।

त्यति नै बेला अर्को जङ्गलबाट ब्वाँसो आइपुग्यो । उसले समाचार बुझ्न चाह्यो ।

स्याल अघि सरेर भन्न थाल्यो; “ब्वाँसो भाइ, यस जङ्गलका हामी सबैको शरीर अनेक छ तर भावना एक छ । यसलाई देखेर कसैले हामीलाई भाँड्न षड्यन्त्र गर्‍यो ।”

“त्यो ता बुझेँ । खाट्टी समस्या के हो कुन्नि ?” ब्वाँसोले सत्य नछिमली नछाड्ने सुर कस्यो ।

तीनतिर पहाड थियो । बिचको उर्वर भूमिमा सबै जन्तुले मुकाम बनाएका थिए । दिनदहाडै पहाडमा डढेलाको लप्को देखियो । सक्ने जतिले ज्यान हत्केलामा लिएर दगुरे । भुला बाँदर भने अशक्त र बालबच्चा ओसार्नमै व्यस्त थियो । सबैको ज्यान बचायो तर आफ्नै बचाउन सकेन ।

यस्तो यथार्थ इतिवृत्त बुझेर ब्वाँसाले भन्यो; “छिमेकीको शोक हाम्रै शोक हो । धन्दा नमान्नुस्, शोकलाई शक्तिमा बदल्ने उपायको प्याकेज चाँडै घोषणा हुनेछ ।”