सम्राट्

“गाली गर्दा ताली फर्काउँछेस् । कस्ती भ्यालुलेस् ?” मैले त्यसलाई आफ्नो कालो मन देखाएँ । ऊ मुसुक्क मुस्कुराई मात्र ।
“तँसँग रिस छैन, ईर्ष्या छैन । मात्र मुस्कान छ । प्रसन्नता छ ।” ऊ उदार भएकोमा अझ रोष थपेँ ।

ऊ अझै अव्यक्त रूपमा प्रसन्न चित्तवृत्तिमा थिई । “सर्पसँग विष हुन्नथ्यो भने त्यो खेलौना हुन्थ्यो । बाघसँग दाह्रानङ्ग्रा र जिउँदो क्रोध रहन्नथ्यो भने केटाकेटीको सवारी साधन बन्थ्यो । तिनीहरूसँग मौलिक सम्पदा भएकोले मानव समाज थर्कमान छ । तँसँग के छ त ?” मैले प्रश्न तेर्स्याइरहेँ ।

“म खाना दिन्छु, प्राण दिन्छु, मान र सम्मान दिन्छु ।” उसको तर्फबाट पुरानै जवाफ दोहरिएको अनुभव भयो मलाई ।
मैले त्यसको अन्तस्करण चिमट्ने गरी भनेँ, “म तँलाई कोपर्छु । भुत्ल्याउँछु । तेरो फल लिन्छु । जलले प्यास मेट्छु । आफ्नो भोकलाई नाश गर्छु । दिनदहाडै तँलाई नङ्ग्याउँछु । आँखालाई आनन्द दिन्छु । भेटे तँलाई नै ओछ्यान बनाएर रात कटाउँछु ।”
ऊ क्रोधले पूरै जली । त्यति बेलै बेगले हावा चल्यो । धूलाले मेरा आँखा पुरिए । होस गुम भयो । आफ्नो जीवन आफूसँग नरहेझैँ भयो ।

हायलकायल भएर उसको सामु हात जोड्दै भनेँ, “बुद्धि बन्द हुँदा आफैँ सम्राट् थिएँ । अहिले खोल्दा हजुर(प्रकृति)लाई पो सम्राट् देखेँ ।

० ० ० ०

खुसी

“तँ अचेल अँध्यारो मुख लगाएर किन कुनामा थुप्रिन्छेस् हँ ?” माहिला हजुरबुबाले आज पनि पुरानै प्रश्न दोहोर्‍याउनुभयो । उहाँलाई देख्नासाथ हरदम यही एउटा प्रश्न घोचो बनेर मेरा सामु तेर्सिन्थ्यो ।

“म मनको राजा हुँ । आफ्नो मनसँग बात मारेर सुख आर्जन गर्न चाहन्छु ।” यसो भनेर जवाफ फर्काउन चाहेँ । मेरो बोलीले उहाँलाई बिझाउला कि भनी तत्कालै मुखमा भोटे ताल्चा लगाइहालेँ । उहाँ आदर्शका कुरा फलाक्दै स्कुल जानुभयो ।
धेरै पहिलेदेखि मलाई समय चहर्‍याउँथ्यो । वातावरणमा उकुसमुकुस छाउँथ्यो । म प्राकृतिक वातावरणमा हराउन चाहन्थेँ । प्रकृतिको वास्तविक रूपमा हेलिन चाहन्थेँ । समग्रमा म फकिर बन्न चाहन्थेँ ।

आफ्नो मनोभावना अनुरूप बाँच्न समाजले छुट दिँदैनथ्यो । म निर्धारित समयभन्दा एकाध घण्टा ढिलो निवास पुगेँ भने अभिभावकलाई त यथार्थ कुरा बताएर विश्वस्त पार्न सक्थेँ ।

यद्यपि समाजले तिखा नङ्ग्राका साथ भन्न सक्थ्यो । नेपाली नारीको गन्तव्य र सीमा समाजले तोक्छ । त्यसको लक्ष्मण रेखा नाघ्न सीतालाई त छुट भएन । मामुली अरू नारीलाई झन् हुन्न ।

यसरी मलाई आफ्नो हैन डरको घरमा बसिरहेको भान हुन्थ्यो । यस्तै अनुभव मनमा खेलाइरहेको बेला माहिला हजुरबुबा टिफिन खान स्कुलबाट आएको भान हुनासाथ अनुहारको प्राकृतिकपन ढाकछोप गरिहालेँ । बदलामा कृत्रिमपन निम्त्याइहालेँ । हाँसेर नास्ता पस्किएँ ।

खाँदाखाँदै उहाँले थप्नुभयो, “आज हाम्री ठुली नातिनीको मुहारमा छचल्किएको हाँसो अलिकति चोर्न मन लाग्यो ।”

० ० ० ०

माया

“भोकाले भोजन माग्छ, अघाएर पनि म चाहिँ भोजन नै माग्ने अनौठी भिक्षुणी हुँ ।” मैले आफ्नै अर्को मनसँग भनेँ ।

तत्कालै त्यस मनले भन्यो, “तेरो मनलाई बुझ्न हजार शिर भएका शेष नागको पनि पाइन छैन । तसर्थ अल्पज्ञ संसारसँग मिल्ने कुरा गर्, बाझ्ने कुरा नगर् ।”

“यार, अरूले के भन्छन् भन्दैनन् ? तँ त कुरो बुझिदे ।” मेरो गुनासो सुन्नासाथ उसले भनिहाल्यो, “तँ चेतन छस् । सोचिबिचारी तौलेर बोल्छस् । विवेकले विवेकी बाटो पक्रन्छ । म तेरै अन्धो मन हुँ । मसँग विवेक शून्य छ । मेरो धर्म तेरो अतृप्त चाहनालाई विस्फोट गर्नु हो ।”

म छक्क परेकै बेला त्यसले थप्यो, “रमाइला र उन्नतिशील विचार र व्यवहार प्रदर्शन गर् । तेरो अतृप्त इच्छा पूरा गर्ने ठेक्का म लिन्छु ।”

यस कुराले मेरो अबुझ अहङ्कारलाई प्याट्ट हान्यो । म झसङ्ग भएँ । त्यही मौकामा त्यसले सोध्यो, “आखिर तँ के चाहन्छेस् ?”
मैले भनेँ, “माया ।”

त्यसले भन्यो, “लाटी, मागेर पाइन्छ ? गरेर पो पाइन्छ । संसारलाई माया गर्, दोब्बर भएर फिर्ता पाउँछेस् ।”

० ० ० ०

छक्कापन्जा

ऊ मेरी असाध्यै मिल्ने सँगी थिई तर कट्टर विरोधी थिई । बाहिरी रूपमा नमिले पनि मेरो मनमा ऊ थिई र उसको मनमा म विराजमान थिएँ ।

“तैँले नबिझाउने काम गरे म तँसँगै बिहे गरेर जुनी काट्न तयार हुन्थेँ ।” उसको कुरा सुनेर म तर्सिएँ । मैले टेकेको जमिन हल्लन थाल्यो । मेरा गोडा हल्लन थाले । म अडिन नसक्ने अवस्थामा पुगेँ ।

हत्तपत्त ऊ नै सहारा बनेर देखिई । मलाई झकझकाएर होसमा ल्याई ।

“तँ लडकीको अर्को लडकासँग चक्कर छ कि क्या हो ?” उसले मलाई जिस्क्याउने नियतले भनी ।

“तँ केटी भएर म केटीसँगै बिहे गर्छु भन्छेस् अनि !” मैले मन खोलेँ ।

“संसार छक्कापन्जामा रमाएको छ । तँ भने पाँच सय वर्षपूर्वको सोच लिन्छेस् । समलिङ्गी विवाह भन्ने तँलाई थाहा छैन ।” यसो भनेर उसले मेरो बोलीलाई भाउ नदिने विचार गरी ।

“तँ मलाई घृणा मात्रै गर्छेस् ।” मैले असन्तुष्टि पोखेँ ।

उसले आङ मर्काई । हातखुट्टा तन्काई । हाई काढी र भनी, “संसारको सबैभन्दा नजिकको र प्रिय मान्छेको सास पनि प्रिय लाग्छ । अहिले म तेरो सामु खडा भएर त्यही सासको सुगन्धमा आह्लादित छु ।”

० ० ० ०

भरोसा

“कुनै काम थाल्दा पहिले दिमाग चलाउने गर् ।” मैले बरोबर काम बिगार्दा हजुरबुबाले भन्ने शब्द आज एकाबिहानै सम्झिएँ ।
उहाँ संसारबाट बिदा हुनुपूर्व अनेक कुरा भन्नुहुन्थ्यो । म वास्ता गर्दिनथेँ । आज रातभरि चिन्ताले ओछ्यानमै मडारिरहेँ । सङ्कटको घडीमा विगत सम्झिनुलाई स्वाभाविक ठानेँ ।

उहाँ भन्नुहुन्थ्यो, “अहिले तिमरुमा जवानी मडारिरहेको छ । हामी जस्ता बुढापाकाका कुरा गनगन मात्रै लाग्छन् । धोका पाएपछि अमृत लाग्न थाल्छन् ।”

म उहाँका हरेक कुरा फिस्स हाँसेर हावामा उडाइदिन्थेँ । आज एकाबिहानै मलाई हजुरबुबा जीवनभरिकै महान् गुरु भएको अनुभूति भयो । उहाँका ती कुरालाई गम्भीरतापूर्वक लिएको भए मेरो भरोसा यसरी जीवनभरका लागि तुहने थिएन ।

“तँ फुच्चीले मैले भरेको जाँच्ने ?” फारम भर्दा सरले यही कुरा भनेका थिए । मैले आँखा चिम्लेर सरको कुरा खाएँ ।
भरेभन्दा एसइईको प्रमाणपत्रमा मेरो नाम ‘स्वस्तिका’ को सट्टामा ‘सोस्तिका’ बनेर आएको थियो ।

० ० ० ०

(स्वस्तिका सिम्खडा दिवङ्गत भइसक्नुभएको छ । उहाँको प्राणप्रतिष्ठान नामक लघुकथासंग्रह संयुक्त लघुकथा विमोचन समारोहमा चाँडै विमोचन हुँदै छ ।)