उनीसँगको प्रेम विछोड भएपछि विह्वल भएको थिएँ । ढोका खोलेर हजुरआमाको कोठामा पुगेँ । खाटको छेउमा राखिएको मुढामा बसेँ । मेरो अुनहार अँध्यारो देखेपछि हजुरामा कथा भन्न थाल्नु भयो,
“उहिलै हावामा विपरीत दिशाबाट उडिरहेका ढुङ्गा र माटोबीच ठक्कर लाग्यो रे र तल खसे रे ! माया पिरतीको कारणले पृथ्वी जन्म्यो । परिणाम पृथ्वीमा कैयन् बोटविरुवा तथा जिवजन्तुको उत्पती भयो । जताततै हरियाली र खुसी छाएको देखेर एकदिन माटोले हाँस्दै भनिछन्,“ ढुङ्गो ! म त त्यसै हावामा विलिन हुन लागेको बेला तिमीसङ्ग भेट गराए दैवले । र आज यो खुसी देख्न पाएँ ।”
“मेरो पनि त तिमीसङ्ग भेट हुनाले अस्तित्व बच्यो, गुम्न लागेको अस्तित्व बचाइदेकोमा खुसी छु ”ढुङ्गोले पनि भनेछ ।
त्यसपछी जुनिजुनी सङ्गै बाँच्ने सङ्कल्प गरेका ढुङ्गो र माटोको मृत्यु पनि सङ्गै भएछ ।
अर्को जुनिमा ढुङ्गोले पुरुषको र माटोले महिलाको रुप लिएर जन्मे ।
“अनि के भयो हजुरआमा ?” मैले जिज्ञासा राखेँ ।
हजुरआमाले भन्नुभयो तर माटो र ढुङ्गोको जस्तो प्रेम, लचकता र कठोरताको तालमेल नमिल्नाले ढुङ्गो र माटोको जस्तो स्वतस्फुर्त नभै पृथ्वीमा महिला र पुरुषमा दबाबपुर्ण प्रेम हुन थाल्यो र त्यसबाट जन्मिएका स–साना अस्तित्वले पृथ्वीमा विभाजनका रेखाहरू कोर्न थाले । र आज मान्छेहरू ढुङ्गो र माटोको झैँ अमर प्रेम गर्न जान्दैनन् कान्छा !’
हजुरआमाको कुरा सुनेपछी हतारमा म पुजाकोठा गएर भगवान् पुकार्न थालेँ ।
भगवान प्रकट भएर भने –“भन् बालक के समस्या पर्यो ?”
“भगवान् म मेरी उनीलाई साँचो प्रेम गर्छु, हाम्रो प्रेम ढुङ्गो र माटोको जस्तै जुगजुगसम्म अमर रहोस् !”
भगवानले मेरो सामु आएर टाउकोमा हात राख्दै तथास्तु भने । म खुसी हुँदै जोडले भन्न पुगेँछु, थ्याङ्क्स् गड् !
“के भो कान्छा, के भो ?” यसो आँखा खोलेर हेरेँ । हजुरआमा मलाई ओछ्यानमा आएर घचघच्याउंदै हुनुहुँदोरहेछ ।
म सपनालाई विपना बनाउन सिरक ओढेर फेरि सुतेँ । तर पटक्कै निद्रा लागेन । सपना नै देखिनँ । सायद यो स्वार्थी संसारमा ढुङ्गा–माटोको जस्तो प्रेम कहाँ पाउनु !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।