
एक्लै हिँडिरहेको उसलाई लाग्यो, रोकिनुपर्छ । तर, न यात्रा रोकिएको थियो, न बाटो । यसकारण यात्री रोकिएन अर्थात् ऊ हिँडिरह्यो ।
मनसुनको कुनै दिन उपत्यकाको सडकपेटीमा ऊ अकस्मात् बजारिएको थियो । ऊ बजारिनुले उपत्यकाको राजनैतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र साहित्यिक भूगोलमा तात्त्विक फरक परेन । जसै बजारियो, उसले मुन्टो उठाएर यस शहरलाई अपलक हेर्यो.. । आकाश ताक्यो, तर सकेन किनकि आकाश छेक्ने गरी घरहरू उभिएका थिए ।
झरीले उसलाई निरन्तर पिटिरह्यो, जसकारण ऊ हलक्क बढ्न पनि पायो । चिस्यान उसका लागि आवश्यक थियो, प्राणवायु थियो । सडकपेटीमा बज्रिरहेका झरीका कारण उसले देशको राजधानीमा आफ्नो शैशवकाल खुसीसाथ बिताउन सक्यो । ऊ दङ्ग थियो ।
मनसुन रोकियो । चिसा र स्याँठ लाग्दा दिनहरू आए । तत्पश्चात्, ऊ व्यग्र हुन् थाल्यो । उसका जीउ पट्पटी फुट्न थाले । उसले माटो देख्न पाएन । ऊ सडक वारि-पारि गरिरह्यो । कहिले कुनाको सियाँलमा टाँसिएर बस्यो, कहिले पहेँलो पातको पछाडि लुकेर बस्यो, कहिले कुनै हिलो जुत्ताको पिँधमा निसास्सिएर अलि परसम्म पुग्यो । यदाकदा कहिले कसो नालामा हामफाल्न खोज्थ्यो, तर गन्धले अत्तालिन्थ्यो ।
उसले चिस्यान खोज्यो । पाएन । उसले माटो खोज्यो, भेटेन । बदलामा उसले रुखासुखा यस शहरमा अनगीनत चोट र प्रहारहरू भेट्यो । र, अन्ततः ऊ माटोको खोजीमा अलि पर..अलि पर.. गर्दै घिस्रिरह्यो । घिस्रिरह्यो । उसलाई विश्वास थियो, ‘एसियाकै उर्वर भूमिमध्ये एक यस उपत्यकामा माटो भेटिएरै छाड्नेछ ।’ यही निर्क्योलका साथ ऊ अनवरत हिँडिरह्यो…हिँडिरह्यो !
कसैलाई थाहा खबर छैन, ऊ कहाँ छ यतिखेर ?
ऊ अर्थात् यस शहरको आदिवासी । गँड्यौला ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

अभिज्ञान शाकुन्तल: प्रकृतिमय आर्य सभ्यता नियाल्ने आँखीझ्याल
