बाकस

हरिचन्द्र बा बिरामी भए देखिनै  उनका छोराहरूलाई फोन गरी जानकारी गराइएको थियो तर छुट्टी मिलेन भनेर विदेशबाट दुवै छोरा आएनन् । ठुलो छोराले भर्खर घर किनेको हुँदा लोन धेरै छ त्यसैले आउँदा ठुलै नोक्सानी हुने बतायो । अनि सानो चाहिँ आएपछि फेरि जान नपाउने भनेर आउन मानेन । बरु जतिसुकै खर्च लागेपनि पठाइदिने तर आफूहरू  आउन नसक्ने भने। यता छिमेकी आफन्तले अस्पताल राखेर उपचार गरे ।

आखिर बा बिते । बा बितेपछि छिमेकीले “फोन गरेर बा को अन्तिम संस्कार  (काजकिरिया) गर्न तुरुन्तै आउन भने।  ” तर छोराहरूले आफूहरू आउन ढिलो हुने भएकोले  लासलाई  अरू केही दिन अस्पतालमै  राख्न भने।”  बल्ल ११ दिनपछि मात्रै जेठो छोरा  आएर अन्तिम संस्कार गरे ।

विदेशमै बस्ने रामु, कृष्ण र अनुपले यो  सबै नजिकैबाट नियालिरहेका थिए । उनीहरूले सल्लाह गरे,  “एकदिन हाम्रा बा, आमाको यस्तै खबर आउन सक्छ, त्यति बेला आफू तत्कालै जान सम्भव नहुन सक्छ । हस्पिटलमै बिते त उहीँ राख्न मिल्छ घरमै बिते भने कसरी राख्नु ।  बरु एउटा आइस बाकस नै गाउँमा पठाउनु पर्यो ।”

० ० ० ०

धर्म

मनमाया  पशुपतिनाथ दर्शन गर्नको लागि हातमा पूजा सामाग्री  लिएर निस्किन् ।

लोग्नेले गाडी निकाल्दै थिए ।

“कति ढिलो गरेको”  उनी  फत्फताउन थालिन् ।

दुई महिना अगाडि मात्रै श्रीमान् गुमाएकी पल्लो घरकी सुनिता कलेज  जानको लागि स्कुटर निकाल्दै थिइन् । कसो कसो मनमायाका आँखा त्यतै पुगे ।

“जता नफर्कुम् भनेको त्यतै आँखा पुगे कस्तो अनर्थ भयो” मनमायाले मनमनै भनिन् ।

“थु … थु … कुनै अपशकुन  नहोस् भगवान्” भन्दै प्रार्थना गरिन् ।