जन्म जन्मान्तर

पूर्वजन्ममा म भैंसीको पाडो थिएँ ।

साँझ बिहान भोक लागेको बेला मालिकले मेरो घाँटीबाट दाम्लो फुकालिदिनुहुन्थ्यो । र भोकको झोंकमा मेरी आमा भैंसीको मुन्टा चुस्न थाल्दथें । चुस्ताचुस्ता बिस्तारै थुन पग्रन थाल्थ्यो र दूधको स्वाद जिब्रोले जसै पाउन थाल्थ्यो, मालिकले हत्त न पत्त दूधको मुन्टा छुटाएर बाँधिदिनुहुन्थ्यो ।

मालिक त्यसपछि बाल्टीमा मेरी आमाका पग्रेका थुनबाट मोटामोटा दूधका धारा दुहुनुहुन्थ्यो । म टुलुटुलु हेरिरहन्थें ।

बाल्टी भरिएपछि मालिक उठ्नुहुन्थ्यो । मलाई छाडिदिनुहुन्थ्यो । म पुनः । हत्तारिँदै थुनमा मुख पुऱ्याउँथे । तर एक-दुई झमट चुस्न नपाई थुन रित्तिन्थ्यो । आइहाल्छ कि भनेर अझै म चुस्थे । तर आउँदैनथ्यो । तर पनि चुसिरहन्थे ।

दूधको बाल्टी पुर्‍याएर मालिक आउनुहुन्थ्यो । मलाई फेरि बाँधिदिनुहुन्थ्यो एवं रितले बाल्यकालमा नै भोकको आहारा बनें म । मेरो मृत्यु भयो । अहिले मैले मान्छेको जुनी पाएको छु, तर नियति भने पूर्वजन्मकै भोगिरहेछु ।

‍‍‍= = = =

चरा र मनुष्य

झिसमिसेमै चरा बगैंचामा चिर्बिराउन थाल्यो र बिस्तारै चाराको खोजीमा भुर्र उडेर गयो ।

बगैंचाछेउको बासिन्दा मानिस पनि उठेर कामको खोजीमा हिँड्यो ।

सहरीकरण, वायुमण्डलको प्रदूषण झेल्दै साँझपख चरा गुँडमा फर्कियो । बचेराहरू चारासहित चराको आगमनले खुसी भए ।

मानिसको परिवार थियो । उनीहरू मानिसको प्रतीक्षामा भोक झेल्दै कुरिरहे ।

मानिसले बहुत मुस्किलले थोरै काम पायो । अलिकति पैसा कमायो । हातमा पैसा परेपछि उसले घरको बाटो समातेन ।

मुख मिठ्याउँदै भट्टीमा पस्यो ।

= = = =

आदिम आदर्श

अन्तर्वार्ताको क्रम चल्दै थियो ।

तपाईंको नाम ?

हरिप्रसाद ।

पूरा नाम भन्नुस् ?

हरिप्रसाद शर्मा ।

घर ?

पक्लिहवा !

कति छन् दाजुभाइ ?

यौटा भाइ छ ।

त्यसो भए तपाईं जेठो छोरो ?

हजुर ! ऊ यतिखेर मुस्कायो ।

दिदीबहिनी नि ! यतिखेर प्रश्नकर्ता मुस्काए ।

छैनन् ।

खेतबारी ?

खेत छैन, बारी अलिकति छ ।

हस् त जानुस् !

ऊ अर्थात् हरिप्रसाद शर्मा उठ्‌यो । नमस्ते गर्यो । चार कदम बढ्यो र ढोकाछेउ पुग्ने बेलामा टक्क अडियो । फरक्क फर्कियो । अनि भन्यो- “मेरो अन्तर्वार्ता यत्ति हो ?”

अन्तर्वार्ता बोर्डका सबैले मुखामुख गरे ।

“यदि यही अन्तर्वार्ताका आधारमा छनोट गरिन्छ भने मेरो नाउँ ननिस्कोस् !” उसले चौबीस वर्षको उमेरसम्म जोगाउन सकेको आदर्श ओकल्यो ।

‘तथास्तु ।’ अन्तर्वार्ता बोर्डको यौटा व्यक्तिले बोल्यो जुन शब्द सायद उसले स्वस्थानीको कथामा मात्रै सुनेको थियो ।

(गोविन्द गिरी प्रेरणाको लघुकथासंग्रह ‘बिसौं शताब्दीको अद्वितीय खेल’बाट)