डा. चन्द्र गिरी

बाबु तिमीलाई ‘ड्याडी’ को बढी माया लाग्छ कि ‘मम्मी’ को?

पस्पतेले आफ्नो बालबच्चालाई मात्र नभई गाउँभरिका बच्चाबच्चीहरुलाई सोध्ने प्रश्न हो यो । उसले अरुले पनि यो प्रश्न सोधेको सुनेको छ। हुन सक्छ, तपाईंले पनि सोध्नु भएको छ वा कसैले सोधेको सुन्नु भएको छ।

त्यो बालक वा बालिकालाई धर्म संकटमा सायद हामी सबैले पारेकै छौँ वा आफू पनि सानोछँदा परेको हुनसक्छ। पस्पतेलाई पनि सानो हुँदा यो फसाद भोग्नु परेको थियो । राजनीति वा कूटनीति केही नजानेको बालक पस्पतेले सत्य कुरा भन्दा बाउको अनुहार रातो भएको देख्यो। बाउ/आमा लगायत उपस्थित अरु मान्छेहरुको प्रतिक्रिया सुन्यो/हेर्यो। कुरा बुझ्यो। दुवै जनाको बराबर माया लाग्छ भन्न थाल्यो।

अचम्मको कुरा के छ भने जवाफहरु शत प्रतिशत एउटै हुने गर्छ सबै केटाकेटीको। अलि सानो छँदा ‘मम्मीको’ भन्ने जवाफ आउँछ। जब त्यो बच्चा अलि ठूलो र अलि बुझ्ने हुन्छ, उसको दिमागमा एकाएक ‘कूटनीति’ प्रवेश हुन्छ। उसको जवाफ आजको भोलि बदलिएर ‘दुवै जनाको” भन्ने आउन थाल्छ।

मम्मी र ड्याडी दुवै जनाको बराबर माया लाग्न सक्छ र ? के यो सम्भव छ? बराबरी माया भन्ने कुरा त असम्भव छ नि हैन र ? अलिकति बढी वा घटी त हुनु पर्ने, हैन र ?

खाँटी कुरा के हो भने बालक अलि ठूलो भएपछि उसले परिस्थिति बुझ्छ। दुवै जनालाई खुशी पार्नुपर्ने रहेछ भन्ने बुझेर मिठो भाषा बोल्न थाल्छ । अब त्यो ‘रणनीति’ जिन्दगीभर प्रयोग गर्छ उसले अरु धेरै कुराहरुमा । आफन्तसँग, साथीभाइसँग, जागिरमा, आफ्नै परिवारमा अनि धेरै स्थिति परिस्थितिहरुमा।

सत्य तथ्य लुक्यो तर अरुलाई खुशी बनाउन हो, बिझाउन हैन। सबैसँग राम्रो व्यवहार गर्नुपर्छ, को कति बेला काम लाग्छ थाह हुदैन, आची पुछेको काठ पनि काम लाग्न सक्छ भन्ने सुनेर/सम्झेर होला यसरी बोलेको । यसरी कूटनीति मिसाएर बोलेमा घर परिवारमा वा समाजमा शान्ति छाउने भएर पनि होला।

मान्छे बुढो भए पछि बच्चा जस्तै हुन्छ रे! पस्पते पनि जीवनको उत्तरार्धमा प्रवेश गर्दैगर्दा फेरि सत्य कुरा बोल्न थालेछ, कूटनीतिको बाल मतलब नराखी ।

“उसलाई बाउको भन्दा आमाको बढी माया लाग्छ रे, सधैँ लाग्थ्यो रे !”

(अमेरिकाको नर्थ क्यारोलिना निवासी चन्द्र गिरी पेशाले अमेरिकी सरकारमा वातावरणविद् छन् ।)