बस चढ्ने बित्तिकै काखको छोरो रुन थाल्यो । बस अझै हिँडेको थिएन ।
रेखाले भरतलाई भनिन्, “हजुर बाहिर गएर दुईचार वटा चकलेट र बिस्कुट ल्याइदिस्यो न !”
“तिमी नै जाऊ । बरु म छोरोलाई फुल्याउँछु ।” भरतले अल्छी मान्दै भन्यो ।
छोरोलाई श्रीमानको काखमा राखेर रेखा उठिन् । उनी ढोकाबाट बाहिर निस्कँदै गर्दा अर्का अपरिचित दम्पती बसमा चढे र परतिरको सिटमा बसे । सुन्दरी, मनमोहिनी महिलालाई देखेर भरत झस्कियो । उनको शिरदेखि पाउसम्म बडो चाखले पुलुक्क पुलुक्क हेर्दै भरतले मनमनै भन्यो, “आहा, प्रविणा !! तिमी र म आज यो बसमा श्रीमानश्रीमती भएर बस्न पाएको भए कस्तो मजा हुने थियो होला !”
भरतको सम्झनामा केही घटनाहरू चलचित्र जस्तै गरी उत्रिए । उसले मनमनै भन्यो- “प्रविणा र मेरो बिहेको कुरा चल्दै थियो । तर अफसोस ! उनलाई मैले कहिल्यै भेट्ने मौका पाइन । एकदिन यिनलाई बजारमा हेर्ने कुरा थियो । पूर्वनिर्धारित चोकमा बडो उत्साहका साथ पर्खिएर उभिँदा उभिँदा पनि उनीहरु आएनन् । कुन चोकमा भेट्ने भन्ने कुरामा बुझाइ गलत भएछ । अर्को दिन भेट्ने कुरा गरे उनीहरूले । तर मेरो अफिसको कामले भोलिपल्टै मैले सुदूर पश्चिम नगई भएको थिएन । त्यसैले प्रविणालाई हेर्ने कुरा त्यत्तिकै टर्यो । उनलाई जिन्दगीमा कहिल्यै देखिएन । मेरी फुपूले त्यसै दिन अर्की एउटी केटी- रेखाको कुरा गर्नु भयो र त्यसै साँझ उनलाई हेरियो । तिनै केटी रेखा अहिले हाम्रा छोराछोरीको चकलेट र बिस्कुट किन्न बाहिर निस्केकी छिन ।”
“प्रविणा कस्ती थिइन् ?” आफैँलाई सोध्यो भरतले ।
जवाफ पनि दियो आफैँलाई, “एकछिनको लागि मानिलिऊँ प्रविणा यिनै हुन् । मानिलिऊँ उनको र मेरो बिहे भयो र अहिले मेरी श्रीमती बाहिर निस्केकी होइन, बरु परतिरको सिटमा एकजना अङ्कलसँग गफ गर्दै छिन् ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










