‘आज कति गयो हँ ?’ विपिनले सोध्यो ।
‘फाइभ के, मात्र !’ रमेशको जवाफ आयो ।
‘लु डुबियो अब…, यो तालले के काम काट्ला र ?’ विपिनको चिन्तित स्वर सुनियो ।
‘तैँले गर्दा त हो नि, मैले भनेको मानिनस् त !’ रमेशले जवाफ फर्कायो ।
‘अरे यसमा मेरो के गल्ती यार, मेरो काम भिडियो अपलोड गर्ने हो । सबैलाई हेर कि हेर भन्न त सक्दिन नि !’ विपिन बोल्यो
‘टाइम हेर न टाइम, आइतबार पनि अपलोड गर्छन् ? त्यो पनि राति ९ बजे ? शुक्रबार गर् भनेको के सुन्थ्यो ?’ निरोजले भन्यो ।
मोबाइलको घन्टी बज्छ ।
‘हेल्लो, अँ शिखा भन…,’ निरोजले फोन उठायो ।
‘कति गयो मेरो भिडियो ?’ शिखाले सोधिन् ।
‘अँ हामी तिम्रै भिडियोको कुरा गर्दै थियौँ, आज गजब भयो ५ के गयो भनेर । ल बधाई छ तिमीलाई,’ निरोजले भन्यो ।
‘ह्या, जम्मा ५ के ? अहिलेसम्मकै मिहिनेत गरेको भिडियो हो यो,’ गन्गनाउँदै शिखाले भनिन्, ‘मैले त झन् सबै साथीहरुलाई फेसबुकमा लिंक पनि पठाएँ, हेर्नु है मेरो नयाँ भिडियो भनेर । कतिलाई पठाएँ थाहै भएन । अघि बिहान पो बाबाले के पठाएकी तैँले भन्दा पो थाहा पाएँ ! हि हि… अनि सुन न, ओइ, खतरा गरिस् त भनेर साथीहरुले जिस्क्याउँदा पनि अलि हटके हो हेरेपछि दामी भन्छौ भन्दिएँ । अब के गर्ने हो ?’
फोन स्पिकरमा थियो, शिखाको चिन्ता सबैले सुने ।
‘यसको आइडिया मसँग छ। अब हामी आफ्नै गीतको भिडियो बनाउने । बुझ्यौ ?’ विपिनले भन्यो ।
‘ओ क्या दामी ! म त खेल्छु खेल्छु,’ शिखाले भनिन् ।
‘नो डाउट, यु विल,’ विपिनले सही जनायो ।
‘ल फोन राखेँ , हल्का टेन्समा छु,’ रमेशले भन्यो, ‘कसलाई केको धन्दा कसलाई खानको पीर !’ रमेश आफैँसँग बोल्दै फोन राख्छ ।
‘मलाई त भिडियो नै त्यति मन नपरेको,’ दर्पणले भन्यो, ‘कम बजेटमा तयार गरेको भिडियो पनि के जान्थ्यो र !’
विपिनले भन्यो, ‘यसमा कम बजेट र यो त्यो लोकेसन भन्ने कुरो हुँदैन । अस्ति नीता र प्रवीनको भिडियो देखिस् होला नि ! त्यो एउटा आँगनमा सुट गरेको भए पनि तीन दिनमा २० के हान्यो, कुरा गर्छ !’
‘ए भाइ ती चलेका मोडल हुन्, राम्रै दाम पेल्यो प्रविनले । जताततै बुस्ट गर्यो । नत्र गीत हेर न, कुन एंगलबाट त्यो गीत जस्तो छ हेर त ! त्यो गीतबाट भिडियो हटाएर अडियो मात्र सुन् त,अझ लिरिक्स हेर न, चिया पनि खाइन, खाजा पनि खाइन, भात पनि खाइन,राति निद्रै लागेन रे ! त्यस्तो पनि गीत हुन्छ ?’ विपिनले अनुहार बिगार्दै भन्यो ।
‘अनि के ले तान्यो त भ्यूज ?’ निहुँ खोजुँलाझैँ गरेर रमेशले भन्यो ।
‘कसको भिडियो कस्तो, कसको लिरिक्स कस्तो, को-को मोडल, बजेट कति, लोकेसन कहाँ तथा अन्य कुरामा दोष दिएर अरुलाई आक्षेप लगाउनु ठीक होइन भाइ बुझिस् !’ विपिनले सानोतिनो भाषणै दियो, भन्यो, ‘सबैलाई आफ्नो काम उत्कृष्ट नै लाग्छ र राम्रो काम नै गरेको छु जस्तो लाग्छ । नाम चलेका र वरिष्ठ अग्रजका गीतमा बनेका सबै भिडियोका भ्युज अरुले गणना गरेजस्तो हन्ड्रेड के र त्यो भन्दा बढी छैनन् तर पनि वहाँहरु सधैं सम्मानित र वरिष्ठ नै हुनुहुन्छ र रहिरहनु हुनेछ। वहाँहरुको साधना,अध्ययन र मिहिनेतको कदर सबैतिर भएको छ र हुने नै छ । वहाँहरुका आफ्नै दर्शक र स्रोताहरु हुनुहुन्छ । तसर्थ युट्युबमा भ्यूज बढी भएमा ती रचना र कलाकार मात्र उत्कृष्ट हुने भन्ने कम्जोर मान्यताबाट आजको समाज आक्रान्त छ, बुझ्यौ ?’
‘अरुका हेर्यो युट्युबमा ट्रेन्डिङका कुरा । यति नम्बरमा र उति नम्बरमा… ह्या छोड यस्ता कुरा,’ रमेशले दिक्क मान्दै भन्यो, ‘दर्शक स्रोताको मनमा बस्ने पो वास्तविक सिर्जना हुन् त ! थोरै दर्शकले हेरून् या सुनून् त्यसको महत्त्व अर्कै छ । मिडियाका ट्रेन्डिङ त दुई दिने हुन् । आज एउटा भोलि अर्कै । रचना, सिर्जना पो कालजयी हुनु पर्छ हमेशा मनमा बसिरहने !’ रमेशले चित्त बुझाउने शैलीमा भन्यो ।
‘हो नि ! हामी आपसमा झगडा गरेर मात्र समस्या समाधान हुने त होइन ! न त भ्यूज नै बढ्ने हो,’ विपिनले थप्यो ।
‘युट्युबमा कतिपटक र कतिले हेरे भनेर भनर हात धोएर लाग्नुभन्दा आफ्नो कला हो, सिर्जना हो, काम हो, यसैमा मिहिनेत गरिरहने हो भने परिश्रमीहरुले सफलता अवश्य नै चुम्ने छन् बुझ्यौ,’ ज्यादै कम बोल्ने मनीषले बोलेपछि लगभग कुरा नै टुंगियो ।
यसपछि सबैले चित्त बुझाए र आफ्नो बाटो तताए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।