सञ्जीवन प्रधान

छोराले “डोरेमन” साह्रै मन पराउने गर्थ्यो ।
लामो समयसम्म एकोहोरो “डोरेमन” हेरिरहने हुँदा, उसकी आमाले रिमोट खोसेर टिभी बन्द गर्थिन् प्राय:।
“गधा, तेरो आँखा बिग्रिन्छ,” तिनी भन्ने गर्थिन्।
मन परेको कुरो धित मरुन्जेल हेर्न नपाउँदा, उसको बाल हृदयमा आघात हुन्थ्यो होला ।
मलाई एकदि न छोरोले सोध्यो, “बाबा म ठूलो हुँदासम्म पनि यो सिरियल आउँछ ?”
पछि ठूलो भएपछि बरु ठूलो टिभी किनेर ठूलो कोठामा बसेर, एक्लै सबै हेर्छु।
उसको कुरा सुनेर म मनमनै मुस्काएँ। त्यति मात्रले मलाई पुगेन। म हाँस्न पनि थालेँ। हाँसोले मात्र पुगेन मलाई । उसलाई हाँसोको पात्र पनि बनाइदिएँ।
एकछिनपछि उसलाई के सुर चल्यो कुन्नी, फेरि भन्यो, “बाबा, त्यतिबेलासम्म त म मरिसक्छु होला !”
एकैछिन अघि मुस्कुराइरहेको मलाई धेरैबेरसम्म निष्पट्ट अँध्यारोले छोप्यो।
मेरो घाँटी नराम्रोसँग अँठ्याएजस्तो भयो, त्यो निष्पट्ट अँध्यारोले।
त्यसपछि म रन्थनिएँ। त्यही रन्थनिएकै रनाहामा मैले उसलाई अँगालो हालेँ।