“अहिलेको जमानामा कसैले पनि आफ्नू छोराछोरीलाई बुद्ध बनाउन चाहँदैन” भिक्षु सँगको संवादमा मघुले टिप्पणी गरे ।

भिक्षुले सोधे, “किन र ?”

“छँदाछँदैको सुख सुविधा राजकाज कसले त्यागोस् ? दुई छाक खानलाई मानिसलाई कस्तो धौधौ छ ! एक पल्ट पाएको जुनी मोजमस्ती गरेर हाँसीखुशी शान्तिपूर्वक बिताउने हो, पाएको सुविधा उपभोग गर्ने हो ।“ मघुले जवाफ दिए ।

“आफ्ना छोरा-छोरीलाई के बनाउने विचार छ त ?”  भिक्षुले अर्को प्रश्न गरे ।

“जे बन्ने इच्छा छ, त्यही बनुन्, सफलता हासिल गरुन्, धेरै धन कमाउन्, सुख र शान्तिसँग बसुन् तर बुद्ध जस्तो चैँ नबनुन् ।” मघुले पूर्व आसयकै समर्थनमा जवाफ दिए ।

मघुको कुरा ध्यानपूर्वक सुनिरहेका भिक्षुले भने, “भौतिक वा आर्थिक रूपमा सफल मानिसहरू खुशी हुन्छन् भन्ने छैन, बुद्धको अष्टांगिक मार्ग-“सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि”को अनुसरण गर्ने हो भने सफलता, खुशी र शान्ति एक्कै साथ पाउन सकिन्छ ।”

मघुसँग न कुनै उत्तर बाँकी थियो न कुनै प्रश्न नै ।