“पाँच मिनेट पर्ख आधा घण्टापछि आइपुग्छु है !”

यो भन्नेहरूलाई यति बेला साह्रो परेको हुन्छ जब ऊ कुनै विमानस्थल पुग्नु छ अनि जानु छ कतै अथवा कसैलाई बिदाइ गर्नु छ वा कसैलाई स्वागत गर्न उपस्थित हुनु छ । कुनै  बेला आफैले भनेको कुरा आफैले भोग्नु पर्दो रहेनछ । म यस्तै स्थितिमा परेँ आज । निकै अबेर भएर  चिन्तित थिएँ । बिहान ७ बजेको हो ।

मलाई मेरो आफन्तलाई बिदाइ दिनु थियो । हवाई जहाजको निर्धारित समय ९:४५ थियो ।

गाडी पार्किङ स्थलमा राखेर म कुद्दै थिएँ । पछिबाट मलाई कसैले बोलायो । फर्केर गुड मर्निङ भनेँ मैले पनि ।

‘अलिक समय छ सर !’ उसले मलाई भन्यो ।

म हाँसे मात्र । वास्तवमा मैले उसलाई राम्रो चिन्न नै सकिरहेको थिइनँ । चिनिन भन्नु पनि कसरी ?

ऊ एक लक्का युवक थियो ।

म रोकिएँ । केरेला जाँदै गरेको मेरो भतिजोलाई प्रस्थान द्वारअघि सामानसँग बस्दै गर्नु भनेको छु ।

‘सरले मलाई राम्रो चिन्नु भएन होला !’- मलाई उसले नै सुविधा दिँदै प्रश्न गरेपछि मलाई ढुक्क भयो ।

‘हो नि ! अलिक कन्फ्युज भएँ !’ मैले यसो भनेपछि ऊ मज्जाले हाँस्यो ।

कुनै दिन ऊ मेरो कार्यालय आएको भन्दै प्रश्न गर्यो – ‘अहिले पनि छ तपाईंको अफिस ?’

‘छ’ भनेँ ।

तर युवकले नाम बताएन । मैले सोधिनँ पनि ।

ऊ निक्कै खुलेर मसँग बोल्दै थियो ।

भन्यो – ‘सर ! बोर्डिङ टाइम छ नि हतार नगर्नुहोस् ।‘

‘म हैन मेरो आफन्त जाने हो केरला ।’- भनेँ ।

‘ए हो सर ! मेरो पनि त साथीको हजबेन्ड जाँदै छन् । छोड्न आको म !’

‘लु जाऔँ न त !’

‘हैन, साथी छ उसको हजबेन्डसँग ।’

‘हुन्छ ! अहिले भेटौं ।’

‘हुन्छ सर म यतै छु ।’

विमानस्थलको प्रस्थान द्वारतिर हिँडे म ।

०००

यो बिदाइको समय साह्रै दुखद र पीडामय हुन्छ । यस गरी म भतिजोलाई बिदाइको हात हल्लाउँदै छु । मसँग अरू धेरै हातहरू पनि बिदाइको भावमा हल्लिरहेका थिए । जानेहरूले पनि ओझेल नहुन्जेल हात हल्लाउँदै गइरहेका छन् । यसै क्रममा आफ्नो लगेज डोर्याउँदै गइरहेका व्यक्ति दगुर्दै मेरो छेउमा उभिरहेकी एक युवतीलाई आकस्मिक अङ्कमाल गरेर युवतीको निधारमा मायाले चुम्बन गर्यो अनि लव यु ! भनेर फेरि लगेज भएतिर गयो ।

यो दृश्य कुनै रोमान्टिक फिल्म हेरे जस्तै लाग्यो मलाई । यहाँ भएका अन्यलाई पनि यस्तै लागेर होला सबै ट्वाँ परिरहेका थिए ।

मेरो छेउमा उभिएकी ती युवतीको आँखाभरि आँसु देखेँ मैले ।

केही अप्ठ्यारो मानेर होला वरिपरि हेर्दै त्यो व्यक्ति ओझेल नहुन्जेल हात हल्लाइरहेको देखेँ । कुनै अभागी दाम्पत्य जोडी हुनु पर्छ यो । दायित्व र परिवारको निम्ति गाँस अनि कपासको खोजमा पलायन हुनुपर्ने मुना र मदन जस्तै लाग्यो मलाई ।

स्थिति सामान्य हो तर मलाई नमिठो लाग्यो ।

भतिजो भित्र पसिसकेको थियो । म पनि पार्किङ स्थल तिर लागेँ । गाडीमा म अघि बढिरहेको थिएँ अघि मसँग चिनेर बोल्ने केटो पल्लो पट्टीतिर एउटा स्पोर्ट्स बाइकमा देखेँ । मैले गाडीको गति घटाएँ । भनौँ रोकेर बोलाउन मात्रै लागेको थिएँ एक युवती आएर त्यही बाइकको पछिल्लो सिटमा हाँस्दै बसी ।

दुवै खुसी भएको मलाई भान भयो दृश्य देख्दा । केटोलाई बोलाउन मलाई मुनासिब लागेन । यो दृश्य पनि कुनै फिल्मको लबलि सिन जस्तै थियो ।

मैले गाडी रोकिसकेको थिएँ । बाइकको पछिल्लो सिटमा बस्ने ती युवती त्यहीँ युवती थिइन् जसले केही क्षणअघि एक व्यक्तिलाई अश्रुधाराका साथ बिदा गरेकी थिइन् ।