माननीयको चर्चा चौतर्फी छ । सामाजिक कार्यमा रुचि छ तर अवसर पाइन भन्ने गुनासो छ ।

‘मान्छेहरू फटाह बन्ने मौका नमिलेर सज्जन भए । म फटाह बन्ने अवसर पाएर पनि फटाह बनिन ।’ जुँगामा ताउ तगाउँदै माननीय बोल्नु भो । मान्छेहरू चुपचाप रहे ।

यत्रतत्र सर्वत्र आफ्नो मात्रै गुणगान होस् भन्ने सोचले उहाँलाई कहिल्यै सुखी बन्न दिएन। सानो कार्यक्रममा अवसर मिले पोजपोजका तस्वीर उहाँको फेसबुकमा हेर्न पाइन्छ । भत्ता र सत्ताको लागि जे पनि गर्न तयार हुने उहाँ गत महिनामात्रै माननीय बन्नुभएको हो।

उहाँ माननीय बनेको दिनबाटै राष्ट्रिय राजनीतिमा झगडाको सुरूवात भो ।

गत हप्ता माननीयलाई माछा खाने तलतल जाग्यो । सिङ्गै माछा टुक्रा पारेर ल्याउनु भो । भान्सेलाई अह्राउनु भो ।मीठो बनाउनु, नुन पिरो मिलाउनु, मसला कम र अमिलो बेसी हाल्नु, कचौरामा होइन पिलेटमा ल्याउनु । भान्सेले मीठो बनाउने जुक्तिमा कुनै कसर बाँकी राखेन । नुनपिरो, मसला मिल्यो मिलेन भनेर पुच्छरतिरको एक पिस चाख्यो  । मीठो भएको रहेछ । भान्से खुसी भयो  ।

‘माछा पाकेन ?’ माननीयको आवाज आयो ।

‘पाक्यो हजुर ।’ भान्से भान्साबाटै करायो ।

‘पिलेटमा ल्याउनु । बाँकी नराख्नु’, माननीयको निर्देशन आयो ।

भान्सेले मान राख्यो ।

‘माछा त कम छ त ?’, माननीय उठ्नुभो। कुशलतापूर्वक माछाका टुक्राहरू टाउकोबाट जोड्दै जानुभो । पुच्छर पुगेन । माननीयलाई मान घटेको अनुभूति भो ।

‘पुच्छर खै ?’

‘नुनपिरो, मसला मिल्यो मिलेन, पाक्यो पाकेन भनेर चाखेको हजुर ।’

माननीय जङ्गिनुभो, ‘कसले भनेर ? कोसँग सोधेर ? कसको आदेशले ? म खान्नँ, आफैँ खाने अनि माछाको पैसा समेत तिर्ने !’

भनाभनको बिचमै भान्सेले पैसा तिर्नेभो । माननीयले माछासँगै भान्सेको जागिर खानुभो ।