बजारबाट एकाएक गायब भएदेखि गाउँघर अनि सहरमा चिनीमायाको चर्चा चुलिँदो छ । चाडबाडको मुखमा यसरी गायब पारिनुको मूल उद्देश्य कसैले यसै हो भन्न नसके पनि उनलाई बन्धक बनाएर जनतासँग मोटो रकम फिरौतीस्वरुप असुल्ने दाउमा मुठ्ठीभरका ठुला घरानाका व्यापारी र सरकारकै मिलोमतो त छैन भन्ने आशङ्का बढ्दो छ आम मानसमा ।

उनको हठात् अपहरणको चिन्ताले उनका बाबु उखुमान, आमा सख्खरीरानी, दिदी मिस्रीमाया मात्र छैनन् साहु सुकुमान, छिमेकी चिया चान, पल्लाघरे कफीराम सबैसबैलाई सताएको छ । हुन त आम नागरिकको चिन्ताले कसलाई पो छुन्छ र ?

सडकदेखि सदनसम्मको मौसम गर्माएको चिनीमायाको अपहरणको खबर त्यसै साम्य हुनेवाला छैन । चिनिमाया सहर त भित्रिन्छिन् तर भन्सारको आँखा छलेर अर्कै सेटिङ्गक्क संसारबाट । त्यो संसारमा रमाउनेहरू देख्दा भरियाजस्ता देखिए पनि तिनिहरू स्वयम् सरकार र व्यापारी बर्गका कथित सुकिलामुकिलाहरू बाट निर्देशित छन् भन्न गाह्रो हुने छैन ।

हरेक वर्ष चाडबाड आँउदा यसैगरी कैयौँ चिनीमायाहरूले अपहरणमा पर्नुपर्ने बाध्यतालाई स्वीकारेर अघि बढ्नु राज्यको लाचारीपना सिवाय अरू केही हुनै सक्दैन ।

किन डराउँछ सरकार व्यापारीहरूसँग ?

किन यति उद्दन्ड छन् यहाँका डनहरू ?

किन कोही कसैले राज्य र नागरिकप्रति जिम्मेवार हुनु पर्दैन ?

खै आम उपभोक्ताको मूल्य तिरेर सामान किन्न पाउने अधिकार ?

के मुठ्ठीभरका व्यापारी सरकार अनि देशको कानुनभन्दा पनि माथि हुन् ?

…यी र यस्तै थुप्रै अनुत्तरित प्रश्नहरूको जवाफ खोज्न ढिलो भैसकेको छ ।

चिनीमायाको अपहरणको विषयमा छलफल गर्न बसेको सर्वपक्षीय भेलामा निन्याउरो मुख लगाउँदै जेरीमायाले सोधिन् – हामीले चास्नीमा डुब्न पाउने दिन कहिले आउँछ सरकार ?