‘लुगा सिउने मान्छे भाडामा बस्न खोजेको छ । के गर्ने ?’

‘तल्लो फ्ल्याटको छेउको कोठा दिने हो ।’, श्रीमतीको प्रश्नमा श्रीमान‍्को उत्तर यस्तो थियो ।

‘स्कुल क्याम्पस पढाउँछु भन्थे, तिनलाई पनि भाडामा दिन पाए हुन्थ्यो ।’

श्रीमतीको कुरा राम्रै थियो । ‘बिचको फ्ल्याटको कोठा दिए त भइहाल्यो नि ! शिक्षक रहेछन् । कहिलेकाहीँ हाम्रै केटाकेटीको पढाइ पनि यसो हेरिदेलान् ।’

घर ठुलो थियो, कोठा प्रशस्तै थिए । तल्लो फ्ल्याटको सटरमा हार्डवेयर पसल थियो । कुनै कोठामा दर्जी, कुनैमा सिरक डस्नावाल, कुनैमा व्यापारी, कुनैमा शिक्षक, कुनैमा लोग्ने विदेश पठाएर छोराछोरीलाई बोर्डिङ स्कुल पढाउन बसेकी महिला भाडामा बस्थे । महिना पुगेपछि कोठा र बिजुली पानीको पैसा तिर्थे ।

स्वाभाविकै हो – घरभेटीहरू माथिल्लो तलामा बस्थे । अरू बेलामा नभए पनि भाडा बुझ्ने बेलामा नियमित भेट हुन्थ्यो । आफ्नो मन खाएका डेरावालाकहाँ घरबेटी बेलाबखत चियानास्ता र यदाकदा खाईपिईका लागि जान्थे । भाडामा बस्ने मनले जितेका महिलालाई श्रीमती कहिलेकाहीँ किचनमा बोलाउँथिन् र चिया गफ हुन्थे । अरूसँग कोठाभाडा र बिजुली पानीको हिसाब बुझ्दा मात्रै मुस्किलले भेट हुन्थ्यो ।

कुरो बहत्तर साल वैशाख बाह्रको हो । एक्कासी ठुलो भूकम्प गयो । राति कोही पनि कोठामा, फ्ल्याटमा वा सिरानमा जान डराए । खेतमा बाँस गाडेर त्रिपाल टाँगियो, टाटमाथि गुन्द्री काम्लो ओच्छ्याइयो र सबैजना एकै ठाउँमा लस्करै लगाएर सुते । बाँस, पाल र टाटको व्यवस्था तल्लो फ्ल्याटमा बस्नेले गरेका रहेछन् ।

फेरि वैशाख उन्तिसमा आएको भूकम्पले एक कुन्द्रो मेटाएपछि मानिसहरू डराई डराई घरमै बस्न थाले । यी घरबेटीले तल्लो फ्ल्याटमा कोठा भाडामा बस्नेलाई उठाएर आफू पनि तल्लो फ्ल्याटमा बस्न थाले अनि ‘माथिल्लो फ्ल्याट खाली छ’ भनेर सूचना टाँसे ।