१. खबर
‘सुरक्षित पनि सबल पनि ।’
हो, बाटो यही रोज्नु पर्छ मैले । उसले निश्चय नै गर्यो । उसको निश्चयमा समयले साथ दियो । अब उसलाई देख्नेहरूले देखे – ऊ सुरक्षित, सबल अनि सफल तर ऊ आफैँभित्र जर्जर, कमजोर र लाचार हुदै गएको, खोक्रो बन्दै गएको ऊ आफैँले महसुस गरि नै रह्यो । एक दिन समाचारमा छापियो – ऊ हृदयघात भएर परलोक भयो । सबै सबै छोडेर अन्ततः ऊ आफ्नो वास्तविक तस्बिर देखाउँदै सल्की नै रह्यो…. सल्की नै रह्यो ।
===
२. चित्रमय झाँकी
आज सुरसाको जन्मदिन । भान्सामा ठाउँ पुग्ने त हुँदै भएन । ब्याङ्केट, होटल, रिसोर्ट के के भनाउदाहरू खाली नै छैनन् कारण जब जब सुरसाको जन्मदिन आउँछ वा अर्को पाराले भनूँ उनी जन्मेको बेला नै सबैले खुशी मनाइरहेको वा कसै–कसैले शोक मनाइरहेको बेलामा पर्दछ । कसैको बिहे भइरहेको हुन्छ त कसैको बिहे वार्षिकोत्सव, ब्रतवन्ध, गेटटुगेदर आदि इत्यादिको लस्करै हुन्छ । त्यसैले सुरसाको जन्मदिनमा सुरसा परिवारलाई टेन्सनै हुन्छ । फेरि यसपल्ट त भैगो नभनूँ जन्मदिनको दिन उमेर भन्न हुँदैन भन्छन् ।
पाहुनापाछा नबोलाऊँ भने आफ्नै परिवार, इष्टमित्र मात्रैले घाटैघाटा । यो घाटा खाएर लाटा बन्न रुचि कसलाई हुन्छ र ? परिवारको बैठकै बस्नुपर्यो । आखिर कान्छा छोरा अमेरिका पढेको, बुझेको, जानेको उसकै प्रस्ताव पास भयो । बल्लतल्ल एउटा क्याटरिङ्सँग कुरा मिल्यो । एउटा पिकनिक स्पट अर्थात मनोरम, पवित्र ,खुल्ला चौर रोजियो । कार, बस, माइक्रो आदि इत्यादि बन्दोवस्त गरिए । पाहुनाको मेस बेग्लै, सुरसा एक्लैको मेस बेग्लै ।
आउनेहरू कोही बाइकमा, कोही चिल्ला कारमा आए । अरु आउनेहरू खिस्रिक्क पर्दै, ती बाइक –कारका चिल्ला हेर्दै नाक खुम्च्याउँदै आए । रमाइलो सारै भयो । जाँदा बाटो सबुदै थियो । फर्कँदा अँध्यारोमा हेक्कै भएन त्यहाँ भोलि कोही सवारी हुने भएर कलभर्टको निम्ति खाल्टो खनिएको रहेछ । अघिल्ला जाकिए, रोक्दा रोक्दै एकअर्कासँग ठोक्किए । मान्छे त दैवले सबुदै राखिदिए तर वाहनको बिजोग, जिउमा तक्माझैँ चोटैचोट ।
अस्पताहरू टन्न तर क्लिनिकहरू शून्य थिए त उत्सव मनाउन नपाएकाहरू जान्न भनेर भीष्म प्रतिज्ञेहरू लुरुलुरु छिर्दै थिए । क्लिनिक, अस्पतालहरू झकिझकाउ भए, बजेट जेट बनेर उडिरहेका थिए । यो दृश्यको अवलोकन गरेर थोत्रा पालहरू जिउ उफारेर नाच्दै थिए । सिरेटाहरू अस्पष्ट गुन्गनाउँदै थिए – राष्ट्र…….राष्ट्र….।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।