“ल स्वागत छ।आउ, भित्रै आउ।”,धेरै वर्षपछि भेट भएको साथी कल्पनालाई हार्दिकतापूर्वक स्वागत गरिन् सुप्रियाले।

क्याम्पस सँगै पढेका थिए उनीहरुले । पढाइ सकेपछि सुप्रिया सरकारी सेवामा प्रवेश गरिन् । कल्पना अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थामा आबद्ध भइन् ।

सुप्रिया कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर दुर्गम जिल्लामा कार्यरत थिइन् । यसै बखत कल्पना पनि आफ्नो संस्थाको कामको सिलसिलामा यहाँ आएकी थिइन् । त्यसैले पनि यो भेटघाट महत्त्वपूर्ण थियो । यो मित्रमिलनमा हार्दिकता झल्कन्थ्यो ।

“कान्छु ! नास्ता तयार भएको भए ल्याइहाल ।”, सुप्रियाले भान्छामा भएका नहकुललाई इसारा गरिन् ।

“भिनाजु कता हुनुहुन्छ ? बच्चाबच्ची कति भए ? कता छन् ?”, कल्पनाले जिज्ञासा राखिन् ।

“भिनाजु अध्यापन गर्नुहुन्छ । घरपायक जागिर छ । दुई छोराछोरी उहाँसँगै छन् । आफू भने यो जागिरले कहिले यो जिल्ला, कहिले त्यो जिल्ला । सधैँ बाहिरबाहिरै ।”, दुखेसो पोखिन् सुप्रियाले ।

“त्यही त, बुढाबुढी नै जागिरे हुनु र घरपायक नहुनु त साह्रै विजोग, हैन् ? बैँस छउञ्जेल बुढाबुढी सँगै हुन नपाउनु पनि के जिन्दगी ? चालिस कटेसि रमाउँला भन्ने गीत त्यसै त बनाएको हैन् रहेछ ?”, कल्पनाले ठट्यौली गर्दै भनिन् ।

“चालीस हो र, साठी कटेसी हुने भो जागिरेको त । त्यसैले आफूले त बुढाको सल्लाहबमोजिम नै ऊ उनलाई कान्छो लोग्ने बनाएको । जहाँ गए पनि पकानपुकुनदेखि हरेक कुरामा सजिलो भएको छ ।”, नहकुलतर्फ संकेत गर्दै सुप्रियाले स्पष्ट पारिन् ।