“दुब्लाउन थाल्नु भो त !”

“खै ?”

“राम्रोसँग खाँदा नि खानुहुन्न । बिसन्चो छ र हजुरलाई ?” खाजा दिँदै हरिप्रियाले सोधिन् ।

“छैन ।” सोफामा धुमधुमती बसिरहेका गोकर्णले छोटो उत्तर दिए ।

“छैन भनेर हुन्छ ? झन सुवासको मृत्युपछि त झोक्राएरै बस्न थाल्नु भा’छ ।”

“पिर लाग्दो र’छ । के गर्नु !”

“आ …, मरेर गइसक्या’ मान्छेको नि के पिर गर्नु भा’ !”

“उसको हो र ?”

“अनि कस्को त ?”

“आफ्नै नि !”

“नचाहिया कुरा ! के पिर छ हजुरलाई ?”

“देखिनौ ! उसको अन्त्यष्टिमा कत्रो मानव सागर उर्लियो । श्रद्धाञ्जलीका शब्दले सञ्चार जगत, फेसबुक भरिए । आफ्ना पालाँ के होला भनेको नि ?”

“अँ …, नाम कमाउने बेलाँ ललिता निवास, यति, ओम्नी, नक्कली शरणार्थी केके भन्दै आँखा चिम्लेर कुद्नु भयो । भएन, कैले उनीतिर कैले सुनतिर लम्कनुभयो ! अनि ऐले आएर मलामीको चिन्ता !?”