बिमला नर्स थिइन् । उनी बिहान बिहान अस्पताल जान्थिन् । एक्कासि एनजिअ‍ोमा जागिर मिल्यो । पन्ध्र सय डलर तलब खान थालिन् । संस्थाले मानव अधिकारकर्मी बनाइदियो ।

चारतारे होटलमा मदिराको चुस्की लिँदै एक साँझमा उनले भनिन्, “बाल, युवा, वयस्क तथा वृद्धावस्था सामान्य प्रकृतिको नियम हो । स्विकार्दै जानुपर्छ ।”

सबैले थपडी बजाए ।

बेलुकी घर आइन् । खान खाएर सुतिन् । सासू बिरामी परेको निकै समय भएकाे थियो । वृद्धाको ढाड घुँडामा पिङ्ग खेल्न थाल्यो ।  उनी बेला बेला ख्वाक्क् ख्वाक्क् गर्थिन् ।

बिमलालाई रिस उठ्यो । उनले बम्कँदै भनिन्, “यस्ता असति घरमा भएपछि रातमा निदाउन किन पाइन्थ्यो ?”

सासू भद्र थिइन्  । उनले भद्र शैलीमा भनिन्, “प्राकृतिक नियमअनुसार आउने वृद्धावस्था पशुलाई  पनि थाहा हुन्छ । मान्छे किन भुल्छन् ?”