एक हुल जागिरे मानिसहरू चौपारीमा बसेर गफ गर्दै थिए – यो वर्ष जग्गा कारोबारबाट नोक्सान भयो । स्थानीय चुनावमा खासै कमाइ भएन । सांसद्सँग नजिक भएको पनि काम लागेन । भनेको ठाउँमा सरुवा हुन सकिएन । सङ्घको बैठक भनेर खुब मोजचाहिँ गरियो । भैँसीबाख्राको खेलो त आफ्नो ठाउँमा छ, छोराछोरीको फिस तिर्न पनि कठिन भयो । बोर्डिङ स्कुलले ढाड सेके ।

चौपारीअगाडि नाराजुलुस गर्दै भीड आयो । गफ गरेर बस्नेहरू, “हाम्रो अधिकार सुनिश्चित गर”को नारा लगाउँदै भीडमा सामेल भए ।

मैले ब्यानर हेरेँ । शिक्षक आन्दोलन रहेछ । एक हुल जागिरेहरू सरकारी विद्यालयका शिक्षक रहेछन् ।