म आफ्नो सुरमा हिँडिरहेको थिएँ । मन्त्रालय परिसरबाट आएको चर्को आवाजले मेरो ध्यान खिच्यो-  “आउनोस् ! आउनोस् ! सस्तो सस्तोमा आफूलाई मनपर्ने पुरस्कार छानेर लैजानोस् ।”

मन लालायित भयो । ‘किनी किनी पनि के लानु ?’ तुरुन्तै थच्कियो । होस् भनेर अगाडि बढ्नै लागेको थिएँ, श्रीमतीले भनेको झल्याँस्स याद आयो-

‘फलाना फलानाले कति पुरस्कार पाइसके, तिनका स्वास्नीहरूको कत्रो रवाफ छ । तिमी त हुतीहारा अहिलेसम्म एउटा पुरस्कार पनि हात पार्न सकेनौ है ? यसपल्ट त जसरी पनि एउटा पुरस्कार लिएर आउनू, नत्र घरै नमुन्टे हुन्छ ।’

साँच्चिकै सस्तोमा रहेछ भने लैजाऊँ न त भनेर भित्र छिरेँ । ‘सर्वोत्कृष्ट पुरस्कार’,  ‘उत्कृष्ट पुरस्कार’, ‘….’ भनेर लहरै राखिएका थिए । हरेक पुरस्कारमा मूल्यको ट्याग लगाइएको थियोे । देखेर म धन्नै बेहोस भएँ । सबै मेरो औकातभन्दा बाहिरका थिए ।

“म पनि इमानदार, कर्तव्यनिष्ठ कर्मचारी हुँ हजुर !यसो अलि मिलाएर, छुट गरेर दिन मिल्दैन ?” सबैभन्दा सस्तो पुरस्कार तर्फ औँल्याउँदै बिस्तारै बोलेँ ।

“वाहियात कुरा नगर ! बरु भन, माथि आफ्नो मान्छे छन् ? चिनेका ठूला मान्छे छन् ?” मलाई हेर्दै व्यापारी कड्कियो ।