“नरेले माझेर घोप्ट्याएका भाँडाहरू आगोपानी गरेर मात्रै भित्र लैजा है केटी !” बज्यैले आदेश दिइन् । नातिनी निताले बज्यैका आँखा छलेर ती भाँडाहरू यत्तिकै भित्र लगेर थन्क्याई । दिनभरि दाउरा चिरेर घर फर्कने बेलामा आफूले खाजा खाएका भाँडा माझेर पिँडीमा घोप्ट्याएका थिए नरबहादुरले ।

“धर्म मास्ने भए यिनीहरूले” अगेनोनजिकैको ठुलो ओछ्यानबाट निताको गतिविधि नियालिरहेका बाजेले तितो पोखे । “ह्या, हजुरबा ! आजको जमानामा पनि यस्ता कुरा गर्न सुहाउँछ हजुरलाई ?” निताले प्रश्‍न तेर्स्याई । “यसका बाउलाई पढाएँ, ऊ पनि यस्तै कुरा गर्छ, छोरी पनि उस्तै छे, यस्तै चाला हो भने हामी बुढाबुढीले अबदेखि छुट्टै पकाएर खान्छौँ ” बुढाले खरो निर्णय सुनाए । “नरिसाउनू न हजुरबा ! तपाईँ पोहोर साल बिरामी पर्दा अस्पतालमा नरेदाइले दिएको ताजा रगतले बाँच्नुभएको होइन र ! अझै पनि तपाईँ चाहिँ नरेदाइलाई छिःछि र दूर दूर गर्नुहुन्छ, किन ?”  नातिनीले फेरि प्रश्‍न तेर्स्याई । बुढा निरूत्तर भए तैपनि हार्न चाहेनन् अनि ‘आज मलाई खाना खाने मन छैन है’ भन्दै च्यादरले मुख छोपेर सुते ।

बाजेबज्यैले छुट्टै भान्छा गर्न थालेको यस्तै दुई महिना जति पुग्दै थियो । घरमा बाजेकी छोरी अमेरिकाबाट आएकी थिइन् । खसी काटेर पोल्ने काम चल्दै थियो । बुढी बज्यैले छुट्टै कोठामा भात पकाउँदै थिइन् । एक्कासि गोठमा आगो लागेर दनदनी बल्न थाल्यो । भागाभाग हुँदा सबैले आफ्नो मात्रै चिन्ता गर्न थाले । आगो घरमा पनि फैलियो । यस्तैमा बज्यै चिच्याएको आवाजले सबैको ध्यान भङ्ग भयो । जसले जति माया गरे पनि बज्यै भएको ठाउँसम्म जाने हिम्मत कसैले गरेन । रूवाबासी चल्यो । ईश्‍वर पुकारियो । बाजेले बज्यैलाई बचाउन धर्ती नै चिरिने गरेर गुहार मागे तर कसैको केही लागेन । जीवनको मूल्य कति रहेछ भन्ने कुरा यतिबेला सबैले छर्लङ्ग बुझे । उता, बुढाबा भने डाँको छोडेरै रून थाले ।

यसै बेला एकाएक आगलागीमा परेकी बजैलाई काँधमा बोकेर नरबहादुर आँगनमा निस्किए । कसैले बुडाबाको बर्को तानेर बजैको शरीरमा लागेको आगो निभायो । बज्यैलाई सकुशल देखेर बाजे गदगद भए ।

छेउमा नरबहादुर  डरले काम्दै हात जोडेर उभिएका थिए । “बाजे, मैले हजुरको घर बिटुलो पारेँ, अन्जानमै भान्छामा पुगेछु, बचाउन खोज्दा बज्यैलाई छुन पुगेछु” भन्दै उनी पुकारा गर्दै थिए । क्षमायाचनाको यो दृश्य साँच्चै कारूणिक थियो । बाजेले मन थाम्न सकेनन् । नरबहादुरलाई अँगालो हालेर क्वाँ क्वाँ गर्दै रून थाले । “माफ मागेर काटेमाथि नुनचुक नथप् बाबु, आजबाट तँ मेरै छोरो होस्” भन्दै म्वाइ खान थाले । यस्तो दुःखकै बेलामा किन नहोस्,  नातिनी निताचाहिँ ढिलै भए पनि जातीय पर्खाल भत्केकोमा गदगद थिई ।