“हामीले जित्याैँ । अजय भयौँ । अब हामीलाई कसैले केही गर्न सक्दैन । चुस पेटभरि चुस …… हा ! हा ! हा !”, तन्द्रा हाे वा निद्रामा हाे, उसले एक हुल भित्र पसेर र एक हुल भित्र पस्ने प्रयास गर्दै कराएकाे सुन्याे । ऊ वास्ता नगरी काेल्टाे फेर्याे र निदायाे ।

“तिमीहरूले मात्रै खाने ? हामीलाई पनि भित्र आउन देऊ, नत्र छेउमा गएर जाेडजाेडले भुउँ.. गरिदिन्छाैँ ।”, बाहिरकाले एकजुट भएर भने ।

पटकपटक स्वाद चाखिसकेकाहरूलाई आफू बाहिर बस्नु पर्दा र भित्र पसेकाहरूले मस्त चुसेकाे देख्दा असह्य भएको थियो । उनीहरू कताबाट भित्र छिर्ने भनी अनेक उपाय गर्दै थिए ।

“आउन सके पाे आऊ ! मज्जाले खान पाइरहेका छाैँ, जति कराउने कराऊ !”, माैका यही हाे भनेर भित्रकाले बाहिरकाकाे कुनै वास्तै गरेनन् ।

भित्रकाकाे टाेकाइ र बाहिरकाकाे भुँनभुँनाइले उसको निद्रा खुल्यो । असह्य पीडाले छट्पटिँदै उसले साेच्याे, “अब त अति भाे । पटक पटककाे आफ्नै गल्तीले मैले दुःख पाएकाे हुँ ।”

ऊ जुरुक्क उठ्यो र औषधी समाएर काेठाभरि छर्न थाल्यो ।

एकैछिनमा झुलभित्र र बाहिरका सबै मच्छेडहरू भुईँमा पछारिएर छट्पटाउन थाले ।