त्यस दिन मैले चे ग्वेभाराको तस्बिर अङ्कित टिसर्ट लगाएको थिएँ । ग्वेभाराको कठिन सङ्घर्ष, सरल जीवनशैली र उनको क्रान्तिकारी छविको कारण म उनको प्रशंसक भएको थिएँ । मौका मिल्दा उनको तस्बिर भएको टिसर्ट लगाएर हिँड्ने गर्थें ।

बेलाबखत फुर्सदको समय स्थानीय राजनीतिकर्मीसँग समसामयिक विषयमा गफिने बानी थियो । म नेताहरूले बाटो बिराएको र सामन्ती चरित्र बोकेको भनी आरोप लगाउथेँ । यसैले कतिपयको स्थानीय नेताको आँखामा बिझाउन थालेको थिएँ ।

एक जना स्थानीय नेता मेरो कट्टर आलोचक भएका थिए । उनी आफूलाई जिल्लाकै जुझारु नेता ठान्थे । उनी कम्युनिस्ट पार्टीको चल्तीका नेता थिए । मेरो बदख्वाइँ गर्ने मौका खोजिरहन्थे ।

त्यस दिन खासै काम नभएकाले गाउँको चौतारीतिर लागेँ । त्यहाँ राम्रै जमघट भएको रहेछ । तिनै नेता पछिल्लो पुस्ता खराब बाटोतर्फ डोरिएको भनी आक्रोश पोखिरहेका थिए । म त्यहाँ पुग्नेबित्तिकै उनले मेरो बदख्वाइँ गर्ने निहुँ झिके ।

मेरो टिसर्टतिरै हेर्दै भन्न थाले, “तपाईँहरू जस्तो व्यक्ति त ट्यापेजस्तै गजेडीहरूको फोटो भएको लुगा लगाएर ठाटिनु हुन्छ भने नवपुस्ताले के गर्ला ?”

अरु के-के फलाके, म उनको कुरा सुनेर मन्दमन्द मुस्कुराएँ मात्र । केही बोलिनँ ।

अब भन्नुस्, खासमा बदख्वाइँ कसको भयो ? उसको कि मेरो ?