“आमा ! आमा ! मान्छेले तिमीलाई सिँगारेर यो के गर्न आटेका ?” बाच्छीले आत्तिँदै गाईको कानमा भनी ।

“चुप लाग ! सुने भने बित्यास पर्छ । मान्छेका परिवारका सदस्य मरेका वर्ष यसरी हामीलाई सिँगारेर सहर परिक्रमा गराए मरेको मान्छेले मुक्ति पाउछन् रे क्या ! बुझ्यौ ?” गाईले भनिन् ।

खासै कुरो नबुझे पनि बाच्छी चुपचाप बसी । गाईको सहर परिक्रमा शुरु भयो । बाच्छी पनि आमाको पछिपछि लागी । अलि अगाडि पुगेपछि सडक नजिकै मान्छेले गाईको मुखौटो लगाएर हाँस्यव्यङ्ग्य, प्रहसन गरिरहेको देखेर बाच्छी छक्क परी ।

“अनि यो के गरेका त ?” मुखले इशारा गर्दै बाच्छीले गाईको कानमा खुसुक्क सोधी ।

“गाईजात्रा ! राजनैतिक, सामाजिक, … विकृति, कुरीति र विसङ्गति माथि प्रहार गरेका रे !” गाईले सम्झाउँदै भनिन् ।

“आजै किन ? अनि किन हाम्रै रूप धारण गर्नुपर्ने ?” बाच्छीले आश्चर्य र रोष दुवै प्रकट गरी ।

“हामी सोझो हुन्छौँ, छलकपट जान्दैनौँ नि छोरी ! त्यैभर आजकै दिन मुखौटा लाएर मान्छेले गाईजात्रा गरेका । नत्र तीनसय चौसट्ठी दिन त देखिरहेकै छ्यौ, बिना मुखौटाको ‘मान्छेजात्रा’ !”