भदौ महिनाको २२ गते ! सरकारले धुमधामका साथ निजामती सेवा दिवस मनाइरहेको थियो । देशभरिबाट छानिएका इमान्दार कर्मचारीहरुलाई पुरस्कार वितरण गर्न प्रधानमन्त्री आफैँ आएका थिए । केही कर्मचारीहरु इमान्दारिताको खादा ओढेर प्रधानमन्त्रीको हातबाट पुरस्कार थाप्न व्यग्र भएर पर्खिरहेका थिए ।

कार्यक्रम भव्यतापूर्वक चलिरहेको थियो । शिवप्रसाद र गोपालबहादुरले पनि उत्कृष्ठ कर्मचारीका रुपमा प्रधानमन्त्रीको हातबाट पुरस्कृत हुने सौभाग्य पाए ।

मन्तव्यका क्रममा अतिथिहरुले जोडदार मन्तव्य व्यक्त गरे । पुरस्कार छनौट समितिका पदाधिकारीहरुले पनि पहिले पहिलेका कमीकमजोरीलाई सच्याएर यो पटक असाध्यै इमान्दार, कर्तव्यनिष्ठ र दक्ष कर्मचारीहरुलाई पुरष्कारका लागि सिफारिस गरिएको दावी प्रस्तुत गर्दै थिए ।

कार्यक्रमका अन्य वक्ताले पनि निकै इमान्दार कर्मचारीहरुलाई पुरष्कृत गर्न पाइएकोमा खुसी व्यक्त गर्दै आफ्नो मन्तव्य टुङ्ग्याए । कार्यक्रमका आयोजकमध्येका एक अतिथिले माइकको अघि उभिएर शानदार मन्तव्य व्यक्त गरे, “ तपाईं पुरष्कृत हुनुहुने कर्मचारीहरुको इमान्दारिताबाट यो सरकार खुसीले गद्गद् भएको छ । तपाईंहरुले यसै गरी देशको सेवा गर्नु होला । यस्तै कर्मचारी हुने हो भने यो देश दश वर्षमा धेरैमाथि पुग्नेछ । यति भन्दै ….. ”

तर शिव र गोपालको अनुहारमा खुसीको दियालो धेरैबेर बल्न पाएन ।

अख्तियारको टोली कार्यक्रम स्थलमै आएर उनीहरुलाई हत्कडी लगाउँदै भने, “अकूत सम्पति जोडेको र सेवाग्राहीसँग रिसवत लिएको आरोपमा तपाईंहरुलाई पक्राउ गरेका हौँ ।”