सामान्य परिवारमा बिहे भएकी ज्योत्स्नालाई बिहे भएदेखि नै सानो चटक्क परेको मङ्गल-सूत्र लगाउने औधी सोख थियो ।

अरूका गलामा लरक्क परेका मङ्गल-सूत्र झुन्डिएको देख्दा उनी  मनमनै मैले यस्तो मङ्गल-सूत्र कहिले किनेर लगाउने होला भनेर सोच्थिन् ।

उनले पटकपटक आफ्ना बुढा रमेशलाई  एउटा मङ्गल-सूत्र बनाइदिन आग्रह गरेकी थिइन्, तर रमेश कहिले के कहिले के भनेर टारिरहन्थे ।

धेरै वर्षपछि आफ्ना जागिरबाट आएका र घर खर्च गरेर बाँकी रहेका रकम जम्मा गरेर ज्योत्स्नाले रमेशलाई पत्तै नदिई खुसुक्क एउटा मङ्गल-सूत्र बनाइन्, र घरमा लगी देखाएर खुसी हुँदै भनिन् – बुढा हजुरले नबनाइदिएर के भो त, ल मैले बनाएँ नि, यीः हेर्नु त, अब धित मरून्जेल लगाइन्छ !

रमेशलाई के वास्ता थियो र ?  यस्सो पुलुक्क मात्र हेरेर टारिदियो ।

मङ्गल-सूत्र आएको केही दिनमा नै घरमा खाँच्चै परेकाले ‘केही महिनाका लागि मङ्गल-सूत्र बन्धकी राख्न देऊ न’ भनेर रमेशले गनगन गर्न थाल्यो ।

‘बल्ल त कति दुख गरी बनाएर ल्याएँ,  अब लगाउनै नपाई बन्धकी राख्ने ? नाइँ म त दिन्नँ ।’– भन्दै उनी कराइन् ज्योत्स्ना, रमेश चुप लागे ।

तर केही दिन नबित्दै  रमेशको गनगन सुरु हुनथाल्यो – ‘केही तिरोतारो थियो, ह्या देऊ न, आफ्नो मिलेपछि, किनौँला नि । सुन भनेको यस्तो बेलाको कामका लागि न हो ।’

ज्योत्स्नाले अब रमेशलाई मङ्गल-सूत्र नदिई  सुख्खै पाइनन्  । हातमा मङ्गल-सूत्र राखिदिँदै रून्चे अनुहार लगाउँदै, आँखाबाट तरक्क आँसु झार्दै भनिन् – छिट्टै झिकेर ल्याइदिनु है त ।

‘ल, ल तिमी आफैँ हिँड न त यो राख्न ।’, ज्योत्स्ना पनि साथै गई । बैँकमा राखेर पैसा रमेशलाई दिएर कर्जाको कागतलाई भने मङ्गल-सूत्रझैँ नै जतन गरी दराजमा राखी ।

समय बित्दै गयो । रमेश र ज्योत्स्नाका बिच सम्बन्ध खासै राम्रो भएन । बन्धकीमा बसेको मङ्गल-सूत्र बन्धकीमै थियो । त्यति मात्र नभएर रमेशका अरू बानीका कारण खाइनखाइ गरेर बनाएको घर पनि रातारात कतिखेर बन्धकीमा पुगिसकेछ, ज्योत्स्नालाई थाहै भएन ।

सधैँको किचलोले एकदिन अदालतको कठघरामा पुग्यो । बन्धकीमा राखिएको मङ्गल-सूत्रको गाँठो सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर भएर टुङ्गियो ।

बिर्सिइसकेको मङ्गल-सूत्रको कागत आज दराजमा फेला परेपछि ज्योत्स्नाका आँखा टिलपिलाए ।