रामेश्वर स्टेसनमा रेल पर्खिरहेका थिए । उनको गन्तव्यतर्फ जाने रेल आउन दश मिनेट थियो । रेल पर्खिरहँदा उनले पाइन्टको गोजीबाट फोन निकाले अनि फेसबुक खोले । उनले केही दिन अगाडि अनलाइन पत्रिकामा पठाएको कवितामा पाठकले दिएका प्रतिक्रिया पढ्न थाले । एक जनाले लेखेका थिए “तपाईँ गरिबहरूको कवि हो ।”
अर्को प्रतिक्रिया थियो, “तपाईँका कविताले सिमान्तकृत वर्गको आवाजको प्रतिनिधित्व गर्छन् ।”
फोन हेर्दाहेर्दै उनका आँखा उनको नजिकै बसिरहेको एउटा मगन्तेमा परे । यदाकदा समाचारमा आउने गरेका रेल स्टेसनमा हुने अपराधका घटनाले सायद उनलाई झस्काइरहेको थियो । उनको अगाडि एक घरबारबिहीन मानिस गितार बजाइरहेको थियो । उसको अगाडि एउटा पुरानो निलो रङ्गको सुटकेस ठडिएको थियो । त्यो सुटकेसको बाहिर टाँसिएको कार्डबोर्डमा लेखिएको थियो, “बियर र वाइनको नसा होइन सङ्गीतको नसा चडाउने गरौँ, जीवन सुन्दर हुनेछ ।”
उनले मनमनै भने, “अहा, कस्तो सुन्दर मागीखाने तरिका !”
अर्को कुनामा कपालले पूरै मुख छोपेको मानिस एलिभेटरबाट बाहिर निस्कने प्रत्येक यात्रुसँग “चानचुन छन् ? कृपया यो भोकालाई सहयोग गर्नुस्, जिससले तपाईँको कल्याण गर्नेछन्” भन्दै रित्तो हात यात्रुहरुतर्फ पसारिरहेको थियो ।
ती दृश्यहरु देखेर रामेश्वर मनमनै भन्दै थिए, “यी मानिसका दुखका दिन कहिले सकिने होला ?”
रेल आउन छ मिनेट बाँकी थियो । उनी रेल आउने बाटोतर्फ एकोहोरो हेरिरहेका थिए । एकाएक एक जना महिला उनको अगाडि देखा परिन् । उनले हतार हतार फोन पाइन्टको गोजीभित्र हाले । उनी रोइकराई गरिरहेकी थिइन् । “प्याट्रिक, प्याट्रिक” भन्दै उनी कसैलाई बोलाइरहेकी थिइन् । लाग्थ्यो, उनी यो ठाउँकी होइनन् । उनलाई कसैले झुक्याएर त्यहाँ छोडेर गयो या उनको कोही आफन्त हरायो ।
उनी हतास देखिन्थिन । ती महिला रामेश्वरको नजिकै आइपुगिन् अनि रुन्चे स्वरमा एउटा अनुरोध गरिन्, “के म तपाईँको फोन प्रयोग गरेर कसैलाई कल गर्न सक्छु ? म धेरै अभरमा छु । मेरो साथमा केही पनि छैन । म प्याट्रिकलाई फोन गर्न चाहन्छु ।”
उनले त्यसो भन्दा उनका आँखाबाट बलिन्द्र आँसु बगिरहेका थिए ।
रामेश्वर एकछिन अलमलमा परे । उनलाई के भनौँ के भनौँ भयो । उनले ती महिलातर्फ हेर्दै भने, “मसँग फोन छैन ।”
त्यति भनिसकेपछी उनी अर्कोतर्फ फर्किए । ती महिला ‘प्याट्रिक, प्याट्रिक’ भन्दै रेल स्टेसनको अर्को कुनातर्फ दगुरिन् । रामेश्वर ती महिलातर्फ फर्केर हेर्दै नहेरी रेल चढे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।