“तँ अचेल अँध्यारो मुख लगाएर किन कुनामा थुप्रिन्छे हँ ?“ माहिला हजुरबुबाले आज पनि पुरानै प्रश्न दोहोर्याउनुभयो । उहाँलाई देख्नासाथ हरदम यही एउटा प्रश्न घोचो बनेर मेरा सामु तेर्सिन्थ्यो ।
“म मनकी राजा हुँ । आफ्नो मनसँग बात मारेर सुख आर्जन गर्न चाहन्छु ।“ यसो भनेर जवाफ फर्काउन चाहेँ । मेरो बोलीले उहाँलाई बिझाउला कि भनी तत्कालै मुखमा भोटे ताला लगाई हालेँ । उहाँ आदर्शका कुरा फलाक्दै स्कुल जानुभयो ।
धेरै पहिलेदेखि मलाई समय चहर्याउँथ्यो । वातावरणमा उकुसमुकुस छाउँथ्यो । म प्राकृतिक वातावरणमा हराउन चाहन्थेँ । प्रकृतिको वास्तविक रूपमा हेलिन चाहन्थेँ । समग्रमा म फकिर बन्न चाहन्थेँ ।
आफ्नो मनोभावना अनुरूप बाँच्न समाजले छुट दिँदैनथ्यो । म निर्धारित समयभन्दा एकाध घण्टा ढिलो निवास पुगेँ भने अभिभावकलाई त यथार्थ कुरा बताएर विश्वस्त पार्न सक्थेँ ।
समाजले तिखा नङ्ग्राका साथ भन्न सक्थ्यो– नेपाली नारीको गन्तव्य र सीमा समाजले तोक्छ । त्यस लक्ष्मण रेखा नाघ्न सीतालाई त छुट भएन । मामुली नारीलाई झन् हुन्न ।
यसरी मलाई आफ्नो हैन डरको घरमा बसिरहेको भान हुन्थ्यो । यस्तै अनुभव मनमा खेलाइरहेको बेला माहिला हजुरबुबा टिफिन खान स्कुलबाट आएको भान हुनासाथ अनुहारको प्राकृतिकपन ढाकछोप गरिहालेँ । बदलामा कृतिमपन निम्त्याई हालेँ । हाँसेर नास्ता पस्किएँ ।
खाँदाखाँदै उहाँले थप्नुभयो– आज हाम्री ठुली नातिनीको मुहारमा छचल्किएको हाँसो अलिकति चोर्न मन लाग्यो ।
+++
२०७९/०१/१६ बेलका–२, उदयपुर ।
(लघुकथाकारको पुरानो डायरीबाट साभार । उहाँको निधन २०८०/०४/२० गते भयो । जन्म २०६१ वैशाख १६ गते भएको थियो । उहाँका लघुकथा डायरीमा छरिएका छन् । – सङ्कलक– लक्ष्मी रिजाल )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।