“वाह ! तिमीलाई मान्नुपर्छ यार ! प्रगति होस् त तिम्रो जस्तो । यो सफलताको श्रेय तिमी कसलाई दिन चाहन्छौ ?”
“गुरुलाई, जसका कारण आज म यहाँसम्म आइपुगेँ ।”
“धन्य हुनुहुन्छ तिम्रो गुरु ! त्यस्ता परम गुरुको नाम नै सुन्न पाए कानै पवित्र हुने थियो । भन्न मिल्छ होला ?”
“मेरा गुरु एक हैन अनेक छन् । कसकसको नाम सुनाउँ ? अभाव, गरीबी, चोट, धोका, …..।”
“हैन ! पागल त भइनौ ? अभाव, गरीबी, चोट, ….. पनि  कतै गुरु हुन्छ ?
“हुन्छ, किन नहुनु ? जसले जीवनमा यथार्थबोध गरायो, सत्मार्गमा हिँड्ने प्रेरणा दियो; उसलाई गुरु नभनेर के भन्ने ?”
“कसरी ..? तिमी अलिअलि होइन, पुरै पागल भैसकेछौ । सायद ठुलो सफलता थेग्न नसकेर होला ।”
“ल सुन ! भोक, अभाव, गरिबी जस्ता कुराले सङ्घर्ष गर्न सिकायो, आत्मनिर्भर बन्न सिकायो । चोट, धोकाले मजबुत हुन र केही गरेर देखाउने हुटहुटी पैदा गर्‍यो । परिणाम तिम्रै अगाडि छ ।”