चन्द्रकला दाहाल

करिब तीन वर्षअघि मलेसिया गएको रमेश खबरै नगरी घर आउँदा गाउँभरि हल्ला भएछ । स्कुल नजिक भूमिनन्दन दाइसँग भेट भएर सँगै आएका थिए रमेश । भूमिनन्दन दाइ रमेशको मिल्ने साथी, साह्रै असल मान्छे अनि मलाई “बैनी” भनेर बोलाउनु हुन्छ ।

बिहानको त्यस्तै ८ बज्दो हो, सधैँझैँ ठट्टा गर्दै छिमेकी चुडाल बा, “हैन कहाँबाट भूमिनन्दन बाबु हलुवामा बालुवा हुन आइपुग्नु भएछ हँ” भन्दै आइपुग्नु भो । भेट गर्नै भनेर होला कृष्ण सेडाईं भिनाजू, पौडेल्नी माल्दिदी र खड्का काका पनि एकै छिनमा भेला हुनु भो हाम्रो घरमा । रमेशले मलेसिया जाने बेलामा उहाँहरुलाई नै मेरो रेखदेखको जिम्मा लाएर गएका थिए ।

कुराकानीकै क्रममा रमेशले मलेसियामा भने बमोजिमको काम नपाइने, पाए पनि तलब कम दिने, लुटेराहरुबाट लुटिने र ज्यानैसमेत जान सक्ने जस्ता आफूले भोगेका समस्याहरु सुनाए । अनि अब विदेश नजाने, यसो सानोतिनो पसल गर्ने र छोरीलाई बोर्डिङ हाल्ने जस्ता आफ्ना साना योजना सुनाए । रमेशको निर्णयले सबैजना खुसी भए ।

“अब त देशमा स्थिर सरकार छ, यदि चाह्यो भने विदेसिएका युवा युवतीहरुलाई फर्काउने वातावरण बनाउन सक्छ,” भनी सेडाईं भिनाजूले आफ्नो तर्क दिनुभो। उहाँ राजनीतिमा निकै दख्खल राख्नु हुन्छ ।

“खै हाम्रा केटाहरु कहिले आउने हुन्,” भन्दै लामो सुस्केरा हाल्नु भो पौडेल्नी माल्दिदीले ।

यति नै बेला खेताला खोजेर फर्किनु भएकी चुडाल्नी जेठी बडेमा पनि थपिनु भो । रमेशले विदेशबाट ल्याएका चकलेट सबैका हातमा राखिदिए । पौडेल्नी माल्दिदीले नातिलाई लगिदिने भनेर गम्छाको छेउमा बाँध्नु भो । ”ल स्कुल जान ढिला हुन्छ” भनेर भूमिनन्दन दाइले बिदा मागेपछि सबैजना आ-आफ्नो घरतिर लाग्नु भो । भूमिनन्दन दाइ स्कुलको हेडसर हुनुहुन्छ ।

मैले पनि कुरा गर्दागर्दै भात पकाइसकेकी थिएँ । रमेशले भान्सामा पस्दापस्दै “के पकायौ त सानु तरकारी ?” भनेर सोधे ।

“हिजोको मोहीको सोल्लर, तोरीको साग र अलिकति करेला भुटेकी छु,” भनेँ ।

“म त करेला खान्नँ, तीतो हुन्छ” भन्दै छोरी बाला रुन थाली ।

“आलु आलु खाउली,” भनेपछि बल्ल बल्ल चुप लागी ।

खाना खाएर बूढाबूढी बजार जाने सल्लाह भो । लोग्ने मान्छेको मन न हो, कोठाभित्र लुगा फेर्न पस्नेबित्तिकै “त्यस्तो पापी ठाउँबाट धन्न बाँचेर आइयो, अब तिमीलाई छाडेर कहीँ पनि जान्नँ सानु” भन्दै मलाई अँगालोमा बेरे । मैले पनि तीन वर्षदेखि प्रतीक्षा गरेको न्यानो अँगालो आँखा चिम्म गरेर स्वीकार गरेँ ।

बजार जाँदा बाटोमा पर्ने खोला तर्दा रमेशले एक हातले पाइन्ट र चप्पल अप्ठेरो गरी समाते । अनि अर्को हातले अलि रोमान्टिक हुँदै खोलाको पानी उघाएर मेरो जिउभित्र हालिदिए । “आच्छु.. के गरेको ?” भन्दै मैले पनि पानी छ्यापिदिएँ । अनि हामी दुवै एकैछिन मरीमरी हाँस्यौँ ।

यसै बेला छोरी बालाले “आमा किन हाँस्नु भाको ?” भनेर घच्घच्याउँदा पो म झल्याँस्स बिउँझिएछु । यतिञ्जेलसम्म रमेशसँगका खुसीका पलहरु त सबै सपना पो रहेछन् ! मेरो रमेश त दुई महिनाअघि मात्र मलेसियाबाट काठको बाकसमा फिर्ता आएको थियो, अनि यिनै हातले सदाका लागि बिदा गरेकी थिएँ ।

आकाश खसेजस्तो अनि मुटु फुट्ला जस्तो भो । म के नै पो गर्न सक्थेँ र ? भर्खरै सपनामा रमेशले बेरेझैँ सँगै सुतेकी छोरीलाई अँगालो हालेर धेरैबेर रोएँ । अनि सझेँ, मजस्तै दिदीबैनीहरु अझै कति विधवा हुने हुन्, मेरी बालाजस्तै कति छोराछोरीहरु टुहुरा हुने हुन्, अनि अझै कति वृद्ध बुबाआमाहरुको काख रित्तिने हो ? साथै, मनमनै ईश्वरसँग प्राथना गरेँ- हे भगवान्, अघि सपनामा कृष्ण भिनाजूले भनेजस्तै सम्पूर्ण विदेसिएका युवा युवतीहरुलाई स्वदेश बोलाउने वातावरण मिलाओस् ।

उज्यालो भैसकेको थियो । ढोका खोलेर यसो बाहिर हेरेँ अनि आफूलाई पनि । केही दिनदेखि नधोएका मेरा सेता लुगा, धेरै दिनदेखि कोही नआएको उराठलाग्दो आँगन । आँगनको पल्लो छेउमा भएको अँगेनामा रातभरि बसेको कुकुर उठ्यो, थरर गर्दै जिउभरि लागेको खरानी टक्टकायो । खरानी माथिसम्म उड्यो । मनमनै सम्झेँ, “मेरो जीवन पनि त्यही खरानी जस्तै भयो नि !”

यतिकैमा छोरी बाला पनि उठिछ । बाहिर आएर मेरो हात तान्दै भनी, “आमा, आमा, भोक लागो !”