सुदेश पन्त

विकट गाउँमा एउटा खोल्सो थियो। हुन त गाउँमा अरु धेरै खहरे र नदीहरू पनि थिए; जो गतिवान् थिए, स्वच्छन्द बहन्थे अनि सङ्लिन्थे। त्यो खोल्सो गहिरो थियो, पानी तालिएर बस्थ्यो। यद्यपि स्वच्छ प्रकृतिका कारण पानी सफा, स्वच्छ र निर्मल थियो। त्यो खोल्साको पानीको सहर घुम्ने अनौठो इच्छा थियो। गहिरो र जङ्गल बीचमा भएकाले पानी तातिन पाउँदैनथ्यो। त्यो पानीले सूर्यदेवको कठोर उपासना गर्‍यो र खुसी पार्‍यो।
सूर्यदेवले प्रशन्न भएर उसलाई सोधे, ‘के चाहियो ?’

पानीले भन्यो, ‘मलाई कृपा गरेर बाफ बनाइदिनुहोस्।’

सूर्यदेवले तुरुन्तै बाफ बनाइदिए।

अब त्यो पानी बाफ भएर त्यही गाउँको आकाशमाथि रुमलिइरह्यो। हावाको साथ पाएर बहँदै सहरमाथि आइपुग्यो। अब त्यो पानीले आकाशबाटै सहरको सौन्दर्य निहार्न थाल्यो।

अब सहरमै ओर्लेर सहरिया आनन्द लिने तीव्र लालसा उसमा जागृत भयो। उसले बादल बन्न फेरि सङ्घर्ष गर्‍यो। बादल बनिसकेपछि इन्द्रदेवको असीम निगाह प्राप्त भएर वर्षा बनी सहरमा दर्कन थाल्यो। सहरका कौसी र अट्टालिका एवम् चिल्ला सडकमा चिप्लिँदै बग्न थाल्यो। उसलाई जीवनले पूर्णता पाएकामा स्वर्गीय आनन्दानुभूति भइरहेको थियो।

ऊ बग्दै जाँदा शौचालय, नाली अनि ढलमा मिसियो। अब ऊ निस्सासियो। दुर्गन्धै दुर्गन्ध त थियो नै, उसले आफू पानी हुँ या रछान पत्तो पाएन। यसबाट मुक्तिको ऊ कल्पना पनि गर्न सक्दैनथ्यो किनभने सूर्यदेवसँग वचनबद्ध थियो कि म फेरि अर्को वरदानका निम्ति उपासना गर्ने छैन ।