“हेर हेर लिखा चम्किएका ! लाज सरम नभएकी ! बासको काइँयोले कपाल नकोरेर !  ढाडी, चम्कना र लिखा सबै तान्थ्यो ।”

“के गर्नु दिदी ? आमा नभएका छोरा छोरीको यस्तै बेहाल हुँदो रहेछ ।” चमरलालले जवाफ दियो ।

“उस बेला जाँड रक्सी धोकेर बुहारीलाई यातना नदिएको भए यस्तो अवस्था आउने नै थिएन । अब पछुताएर के गर्छौ ?” भन्दै दिदीले उल्टै भाइलाई गाली गरिन् ।

बाबा र फुपूको कुरा सुनिरहेकी रियाले बिचैमा ठुलो स्वरमा बोलिन्, “फुपू पनि, आमाको मात्र पक्ष लिने ! बाबाको  त दोष  रहेछ ? मेरो के दोष थियो र मलाई छोडेर जानु पर्ने ? कमसेकम बाबाले त मलाई छोड्नु भएको छैन ।”

ऊ ठुलो स्वरमा भन्दै गई, “यो जुम्राले टोकेको पिडा, चिलाई र लाज भन्दा ठुलो घाउ मनमा गाडिएको छ । यसलाई कसरी निकाल्नु ?”

न फुपू बोलिन न बाबा ।

उनले आफ्नाे अठोट सुनाइन्, “अति भयो ! अब म राम्रो पढ्छु अनि ‘रक्सी र जुम्रामा पिएचडी’ गर्छु ।”