भरतपुर गएका बेला दाजु अचानक बिरामी पर्नुभयो । मैले उहाँलाई म्याजिकमा राखेर भरतपुर अस्पताल पुर्‍याएँ । बिहानको चार बजेको समय भएकाले अस्पतालमा बिरामीको चाँप थिएन । हाम्रो काम फटाफट भयो । दाजु बेडमा रेस्ट गर्न लाग्नुभयो । म चिया पिउन खुस्स बाहिर निस्केँ ।

माघको महिना । बिहानको बेला । सिरसिर हावा चलिरहेको थियो । हावाको झोक्काले मेरो त आँखाबाट आँसु बगिरहेको थियो । अस्पतालको अगाडि पिपलको बोटमुनि एउटा मोटी महिला ठेलामा आड लगाएर चिया बेच्दै थिइन् । उनलाई ५-७ जना ग्राहले घेरेका थिए । सबैको अपेक्षा चिया पिउनु नै थियो ।

म मोटी महिलाको पछाडि गएर उभिएँ ।

पहिलो लटको चियाको भिड समाप्त भयो । केही क्षण त्यहाँ सुनसान भयो । म मोटी महिलाको नजिकै गएर एक कप चिया बनाइदिनुस् न, बैनी भनेँ ।

कस्तो चियो कालो कि सेतो ?

सेतो ।

कति कप ?

एक कप ।

उनले ताप्के चुल्होमा राख्दै गर्दा ‘बैनी, ताप्के भरिको छोक्रा फालेर अर्को चिया बनाउन मिल्दैन …?’  मैले प्रश्न गरेँ ।

मिल्दैन । यो फालेपछि त चिया पातले हुन्छ  । सबैले बाक्लो खोज्छन् । म हिस्स परेँ ।

उता जानुस् । ऊ त्यहाँ पाउन सक्छ ।

म उता गएँ । उताका पुरुष भाइले चौतारीको छेल पारेर सिलिड्/ मिलाउँदै थिए ।

भाइ चिया बन्छ नि ?

बन्छ, सर ।

एकछिन पख्नुस् है, सर ।

उनले सिलोटको ताप्के बसाले । दूध राखे । चियापत्ती, चिनी, सुकमेल, ल्वाङ् र अन्त्यमा एक टुक्रा अदुवा राखे । मगमग वासना आउने गरी उमाली उमाली पकाए ।

सर लिनुस् ।

धन्यवाद ।

निकै मिहनेत गरी पकाएको चिया सुरुपसुरुप पिएर सकेँ । मन भरिएन । पुनः अर्को कप पनि अर्डर गरेँ ।

मोटी महिलाले चिया बनाउने भाइलाई रु १० टिप्स दिएको र दुई कप चियाको पैसा दिएको हेरिरहिन् ।

त्यति बेला उनकोमा कुनै ग्राहक थिएनन् । ताप्के भित्रको छोक्रामा झिँगा भुनभुन गरिरहेका थिए ।

म पुनः दाजु सुतेको बेडतिर लागेँ ।