छोरीलाई रोडपारीको स्कुल (डे केयर) लान तयार पार्दै श्रीमतीले राजारामलाई भनिन् – “ खै त ! छारीलाई छोड्न जान्छु भन्नु भएको हैन ? ढिलो हुन लाग्यो ।”
भित्रबाट ऊ चिच्याउँदै भन्यो– “ल म आइहालेँ, एउटा पोस्ट अपडेट गर्दैछु ।”
अचेल राजाराम अलिक व्यस्त नै भएको छ, चुनावले गर्दा । नेपालमा ठूटे राजनीति गरेकालाई विदेशमा एनआरएनको चुनाव चाडपर्व नै भइदिन्छ । नेपालमा बरू आमसभा, प्रशिक्षण, र्याली, बैठक अनेक नाममा समय खेर जान्छ, विदेशमा त्यो गर्नु पर्दैन । नेपालबाट पार्टीका नेता बोलायो, घुमाइदियो, कुम जोडेर फोटो खिचायो भइहाल्यो ।
नेपाल विकास गर्ने हामी युवाले नै हो ।
“तपाईंलाई फेसबुक भए पुग्छ है ?”, अस्पतालको ड्युटी भ्याउन हस्याङ्फस्याङ् गर्दै गरेकी नर्स श्रीमती रिसाएको मुद्रामा राजारामलाई गाली गर्दै थिइन् ।
“चुनावमा उठेको छु, भोटरलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउनु छ, सिद्धान्त र आदर्शका कुरा, परिवर्तनका कुरा र एकताका कुरा बोल्ने लेख्ने यही बेला त हो नि !”, उसले थप्यो, “अब यो महिना अनि चुनाव पछि अर्काे एक, प्लिज बुझ न !”
“तपाईँका भने अनेक बाहाना, म रातदिन बिहान नभनी अस्पताल जान्छु, कमाउँछु, पिर आर पनि बनाएँ । तपाईं राजनिति गर्ने, समय खेर फाल्ने र पैसा खेल्ने भए नेपाल जानुस् ”, जारामकी श्रीमती यी कुरामा सधैँ अडिग थिइन् ।
राजाराम छोरीलाई स्कुल पुर्याउँदै श्रीमतीका मन बिजाउने शब्दहरू सम्झिरह्यो । म आखिर नेपाल फर्कने होइन यहाँ यसो सक्रिय भएको त हो । श्रीमतीको कुरा ठिकै हो भन्ठान्यो । उकुस मुकुस मन फुकाउन घर पुग्ने बित्तिकै उसले फेसबुकमा फेरि पोस्ट गर्यो, “ नेपाल विकास गर्ने हामी युवाले नै हो ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।