

अच्युत कोइराला
आत्मिय साथीले महिनौँ गुनासो गरेपछि उसको गाउँ गएँ। भनेको थियो, एउटा ‘कुटी’ बनाएको छु। साथीहरूलाई बोलाएर एक दिन कुटीमा सुताउन मन छ।
साथीले अत्ति हत्ते गर्यो भन्ने लागेपछि बाटो पारेर उसको ‘कुटी’ छिरेँ। अँ, उसको कुटी चार तल्ले रहेछ। उसले माथिल्लो तलामा लग्यो र चारै दिशाको ढोकाबाट चारै दिशा घुमायो। भन्यो, ‘बुझ्यौ, शहर सिनो हो। गाउँ त के हो के !’
त्यसपछि उसले घर बनाउँदाका दुःख कह्यो र अहिलेको आनन्दको बयान पनि गर्यो।
यी सबै बयान गर्दा उसको अनुहारमा असिम शान्ति देखिन्थ्यो। साथीलाई देखेर म केही अल्मलिएँ किनभने केही दिन अघि मात्र आफू हुनुको अस्तित्वबोध र गाउँमा बसेर पूर्वार्धका सारा उपलब्धि सकिएको लगायतका अनेकन् निराशा ओकलिरहेको थियो।
बल्ल बुझेँ, उसले आफ्नो पौरख देखाउन नपाएकै कारण निराश बनेको रहेछ!
मैले एउटा काम गरेँ, ‘तैँले त गज्जबै गरिछस्’ भन्ने शब्द ननिस्कोस् भनेर विशेष सतर्क रहेँ। उसको प्रगतिमा मैले लिन सक्ने बदला त्यत्ति त हो!
धेरै दिन भो उसले फोन गरेको छैन।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

