स्वदेश रिजाल

पहिलो भेटले सँगसँगै अन्तिम भेट पनि जोडेर ल्याउने रहेछ । उनी सँगको अन्तिम भेट जति अविस्मरणीय रह्यो, त्यो भन्दा बढी यादगार पहिलो भेट थियो । पहिलो भेटसँगै जोडिएर आयो दोस्रो, तेस्रो, चौथो अनि त्यसपछिका अनगिन्ती भेटहरु । पहिलो भेट यस दुनियाको बिल्कुलै अञ्जानसँगको थियो । लगातारका भेट अनि सामजस्यताले आफूभन्दा पनि बढी जानकार त बनायो, अफसोच अन्तिम भेटले पुनश्च: पहिलो भेट अगाडि जस्तै हुनु पर्ने बनायो । त्यसो त भूपेन्द्र खड्काको रचना अनि कर्णदासको आवाजमा ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्थ्यो…’ भनेजस्तै अन्तिम भेट पछिका समय तिमीसँगको पहिलो भेटभन्दा अगाडिको जस्तो हुनै सकेन । तिमी, तिम्रो अनुहार, तिमीसँग जोडिएका अनेकन स्मृतिले वर्षौंसम्म पनि तिमीसँग अञ्जान बनाउनै सकेन । भेटसँगै जोडिएका थिए तिम्रो हेराई, तिम्रो मधुर मुस्कान, तिम्रो आफ्नो सुगन्ध, लामोकालो सिल्की कपाल, त्यो क्याफे, त्यो गल्ली, गल्लीसँगैको मोड, सँगै हेरेका सिनेमा, त्यो सम्झना अनि यस्तै यस्तैका बीचमा फक्रिएको प्रेम त तिमी, म हुनु भन्दा त्यो क्याफे, त्यो मायाको चिनो अनि तमाम कुराहरुसँग जोडिएको रहेछ । लाग्छ, अन्तिम भेटपछि अलग मार्गबाट हराएका हामीलाई ती क्याफे, त्यो गल्ली, गल्लीसँगैको मोड अनि सिनेमाघरले न्यास्रो मान्ला कि के गर्ला ?

अचानक समयले ल्याएको फरकपन, फरक अस्तित्व, स्थानान्तरण आदिलाई आत्मसात गर्नुको विकल्प अब थिएन । सँगै रहन कोरिएका कल्पना, प्रगाढ प्रेम, सहअस्तित्व र केही पलका सहयात्राले भलै भोलि फरक नपार्लान्, तथापि त्यसले महत्त्व जरुर राख्ने छ । जस्तोकि मुसाफिरले जीवनको कुनै क्षणमा कतै पुगेपछि फर्केर यात्रालाई हेर्नु र सहयात्रीलाई मनबाटै नमन र न्यानो धन्यवाद प्रकट गर्दछ । पहिलो भेटमा जति हामी अरु भेटका निम्ति हतारमा, उत्साहमा थियौँ, अन्तिम पक्कै त्यही प्रकारको थिएन । चाहना त अन्तिम भेट नटुंन्गिओस् भन्ने नै थियो । जसरी भगवान् रामलाई बलि दिन पाताल लगिँदा हनुमानको पुकारमा सूर्य रोकिएजस्तै म पनि सूर्यले टक्क रोकिदिओस् भन्ने चाहन्थेँ । सेकेन्ड, मिनेट, घण्टा सुईको गणितीय हिसाब मेरो निम्ति बिग्रिओस् भन्ने चाहन्थेँ ।

अन्तिम भेट- दुवै मौन अनि बोलीचालीमा दुवै, अर्थहीन टुंग्याई, अर्थहीन सुरुवात थियो भन्ने प्रायश्चितमा ।

त्यसपछि, अर्को पहिलो भेटको जाँगर चलेन ।

 

 विदुर ७, नुवाकोट