“सुन्नुहोस् न, घरलाई चाहिने सबै सामान सकिन लागेको छ है, अनि तीन महिनाको भाडा माग्न घरबेटी आउनुभएको थियो, छोरो बिरामी छ, भन्दै थियो” स्वास्नी एकै सासमा बोली ।

“हुन्छ, तर पैसा छैन, तलब नआएको चार महिना  भयो के गर्ने हो खै ?” दिलेन्द्रले स्वास्नीतिर हेर्दै नहेरी बोल्यो ।
स्वास्नीले उधारो माग्नु न भनेर सुझाव दिई ।

“अनि भाडा नि ?” गम खाए दिल, मनमनै भन्छन् “बिचरी उसले के गरोस् घरमा भए पो पकाएर खुवाउनु ।”

अचेल त पसलको बाटो हिँड्न पनि लाज लाग्न थालिसक्यो । धन्न उधारो त दिइरहेछन् । कुन दिन उनले पनि दिन छाड्छन् । साथीहरू सबैसँग सापट माग्या छु कोही बाँकी छैनन् । हैट जिन्दगी के भा’को हो ?

हुन त म बेइमान होइन  नि परिस्थितिले नै यस्तो पारेपछि के लाग्छ र । जागिरे हो नि तर जागिर खाएर के गर्नु चार महिनामा बल्लतल्ल दुई महिनाको तलब आउँछ त्यो पनि काठमाडौँको महँगीमा कता भाग्छ भाग्छ । तलब आएको भोलिपल्ट खल्तीमा कौडी हुँदैन  । मानौँ तलब बाघले लखेटेको मृग हो ।

देशमा रोजगार छैन भनौँ जागिर खाइएछ । जागिर भनौँ खान लाउन नपुग्ने छ । “सन्तोषम् परम् सुखम्” भन्थे तर यथार्थ र आदर्शतामा त फरक रहेछ । दैनिक गुजारा चलाउन यस्तो गाह्रो छ अनि मनभरि पीडा गुम्स्याएर के को सन्तोष न सुख । मनमा पिर लिएर  बाहिर दाँत ङिच्याएर के को सुखको परिभाषा दिने र ?

दिल, दालभात मात्र खाएर अफिस पुग्छ । अफिसमा पुगेर काम गर्न जाँगर चल्दैन । निराश र उदास छ ऊ । उसलाई कामभन्दा पनि भरेको छाकको चिन्ता छ । सँगैका साथीहरू सबै विदेश पसे घरघडेरी जोडे । स्तरीय जीवन बाँचेका छन् । आफू त देशभक्त छोरो यही देशमा गर्ने हो भनियो र गरियो पनि तर भनाइ र भोगाइ फरक रहेछ । वास्तवमा शरीर स्वास्थ्य रहुन्जेल त गरिएला भोलि तलमाथि केही भए, के गर्ने ?  मलाई माया गरेको नभई मेरो कामलाई माया गरेका हुन् , त्यो मलाई स्पष्ट  थाहा छ, सबैलाई काम चाहिएको हो  । बरु विदेश हिँड्नु पर्ने रहेछ । हुन त्यता पनि हुनेको पो राम्रो छ कुनै कुनै त बिजोग नै छ । केही त होला जिन्दगी घिसार्दै जाऊँ ।

“ए, दिल सर कुन मुलुकमा हो ध्यान ?” मित्र नितेशको स्वरले झस्किए दिलेन्द्र। काम गर्न खोजेँ काममा मन पटक्कै गएन ।

“भरे घरमा सामान लैजानु छ, अब कसलाई माग्ने, के बहानामा सामान माग्ने खै ?”  गह्रौँ मन लिएर कार्यालयबाट निस्क्यो दिलेन्द्र ।

फेरि मनमनै भुतभुताउन थाल्यो, “वास्तवमा म बेइमान होइन नि …”