
‘पढाइ सकेर पुरुषार्थी बन्नु। पुरुषार्थी नबनी घर नफर्किनू !’
विद्यालयको पढाइ सकेर महाविद्यालयतिर पढ्न हिँड्नै लागेको बेलामा हरिलाई बुबाले यो वाक्य सुनाउनुभयो । उसको दिमागले बुबाले भनेको यो वाक्यको सारलाई मेसो पाउनै सकेन। उसले यसको अर्थ खोज्न शब्दकोश पल्टायो । शब्दकोशमा पुरुषार्थीको अर्थ लेखिएको थियो- पराक्रमी , पौरखी, कठिन वा दुःसाध्य काम गर्न सक्ने, समर्थ र शक्तिशाली । पराक्रमी कसरी हुने ? पौरखी कसरी बन्ने ? दुःसाध्य काम भनेको कस्तो काम हो ? कसरी गर्ने ? शब्दकोशको यी अर्थले झन् उसको दिमाग जेलियो ।
एक दिन ऊ पढेर फर्किँदै थियो । बाटोमा उसले पण्डितलाई भेट्यो । उसलाई लाग्यो, पण्डितले मलाई पुरुषार्थीको अर्थ राम्ररी बुझाउन सक्छन् । यस्तो सोचेर उसले पण्डितलाई पुरुषार्थीको अर्थ सोध्यो । पण्डितले जवाफ दिए, ‘आत्मबोध हुनु ! म को हुँ ? भनेर जान्नु ! मान्छेको यो अवस्थालाई पुरुषार्थ भनिन्छ र यो बुझ्ने उसलाई पुरुषार्थी भनिन्छ।’ शब्दकोशकै अर्थ बुझ्न नसकिरहेको बेलामा पण्डितको यो जवाफले उसको मन झनै पेण्डुलम बन्यो ।
भोलिपल्ट यसको अर्थ सोध्न ऊ खगोल शास्त्रीकहाँ पुग्यो । खगोल शास्त्रीको “रकेटमा चढेर पृथ्वीबाट अन्तरिक्षका ग्रह, उपग्रह लगायतका अन्य पिण्डहरूसम्म अध्ययनका लागि पुग्नु र फेरि पृथ्वीमै सकुशल अवतरण हुनसक्ने खगोलयात्रीलाई पुरुषार्थ भनिन्छ । ” भन्ने भनाइ उसलाई शब्दकोशको अर्थसँग मिलेमिलेजस्तो त लाग्यो । किन्तु उसको लागि बुझेर पनि यो सम्भव नै थिएन। यसैले उसको दिमाग फेरि पिरोलियो ।
यस्तैमा अर्को दिन उसले पँधेरोबाट गाग्रीमा पानी बोकेर आइरहेकी गृहिणीलाई देख्यो । ऊ उनको नजिक पुग्यो र सोध्यो, “काकी ! पुरुषार्थ केलाई भनिन्छ ?”
गृहिणीले भनिन्, “बाबु ! पुरुषले महिलालाई बिहे गर्नु र सन्तान जन्माउनुलाई पुरुषार्थ भनिन्छ । अचेल सबैले यसैलाई पुरुषार्थ भन्ने गरेका छन् ।”
विवाहित हरिलाई गृहिणी काकीको यो परिभाषा चित्त बुझ्यो ।
पढाइ सकेर हरि घर पुग्यो । बुबालाई ढोग्यो, अनि बुबाको काखमा नातिलाई राखिदिँदै भन्यो, ‘बुबा ! मैले पढाइ सकेँ, म पुरुषार्थी बनेँ र यो मेरो पुरुषार्थ !’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

