थप साधन
“अब कताबाट ल्याउने ? संस्थान, सडक विभाग, हाइड्रोपावरका आयोजनाहरू, परियोजना सबै ठाउँमा भनिसकेँ ।” सहसचिवज्यूले भन्नु भयो ।
“के कुरा होला सर ?” उपसचिवज्यूले सोध्नु भयो । सहसचिवको हातमा यौटा पत्र थियो ।
“हेर्नुहोस् न अर्को गाडी चाहिने भयो ।” सहसचिवले भन्नु भयो ।
“कति समयको लागि होला ? कसको लागि हो ? हुन सक्ने सबै ठाउँबाट मन्त्रीज्यूलाई चाहियो भनेर एक दर्जन गाडी मागी सकिएको छ । रेकर्ड राख्दा राख्दा हैरान भइयो ।” उपसचिवज्यूले भन्नु भयो ।
सहसचिवज्यूले आफ्नो हातको पत्र देखाउनु भयो । मन्त्रीज्यूको निजी सचिवालयबाट सवारी साधन माग भएर आएको रहेछ ।
“मन्त्रीज्यूको सालाबाबु विदेशबाट आएका रहेछन् । आफ्ना भिनाजु मन्त्री रहेसम्म नेपालमा नै बस्ने भएछन् । उनलाई चाहिने भयो इन्धन सुविधासहित सवारी साधन ।” सहसचिवज्यूले भन्नु भयो ।
0 0 0
अनुकरण
“हेर त बाबु हरि दादाको कति राम्रो अक्षर छ । तिमी पनि त्यस्तै राम्रो लेख ल ।” बाबाले भन्नु भयो ।
मेरो मनमा हरि दादा जस्तै राम्रो अक्षर लेख्ने हुटहुटी जाग्यो ।
“मामाको छोराको जस्तै मेहनत गरेर पढ्नु पर्छ है बाबु ।” अर्को वर्ष बाबाले भन्नु भयो ।
आफूलाई पनि मामाको छोरालाई जस्तै सबैले “ स्याबास“ भनुन् भन्ने सोच्दै पढाइमा दत्तचित्त भएर लाग्न थालेँ ।
“तल घरको वासुदेवको छोरा जस्तै अनुशासनमा रहनु पर्छ ।” बाबाले फेरि भन्नु भयो ।
बाबाले जस जसलाई देखाउनु भयो उनीहरूलाई आदर्श मान्दै गएँ । सबै जना म भन्दा पाँच-दस वर्ष जेठा हुनुहुन्थ्यो ।
आज एस एल सी दिएर बसेको छु । “बा म पासपोर्ट बनाउँछु ।“ मैले भनेँ ।
“किन हतार भयो ?“ बाबाले सोध्नु भयो ।
“हरिदाइ, मामाको छोरा , वासुदेव काकाको छोरा कोही पनि छैनन् यहाँ ।” मैले भनेँ ।
बाबाले टाढा क्षितिजमा हेरिरहनु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।