दुई वर्ष प्रेम गरेर विवाह गरेकी नवविवाहिता नीराले बिहे भइसक्दा आफ्नो श्रीमान् मोहनलाई भन्नु पर्ने कुरा केही बाँकी थिएन । आज साता दिन मात्र हुँदै छ , यो घरमा ऊ बुहारी भई आएकी । मान्छेको आवत जावत ,आफन्तको टिका टाला, ढोग-भेट परिचय पर्वको क्रम चलिरहेकै थियो ।

एकाबिहानै उसले खिड्कीको पर्दा सरक्क तानेर बाहिर हेरि भुकभुके उज्यालो भइसकेको थियो । उसले झट्ट आफ्नी आमाको बचन सम्झी ‘हेर छोरी तँ अब छोरीदेखि बुहारी भई त्यो घरमा जाँदै छस, तैँले आफैले रोजेको केटाे हो, हाम्रो भन्नु केही छैन । तेरा बाउ र मैले धेरै दुःख कष्ट सहेर दिनभरि मोमो चाउमिन बेचेर तलाईं र तेरी बहिनीलाई पढाएको कुरा तलाईं थाहा छँदै छ । बस हाम्रो दाइजो भनेकै त्यति मात्र हो ।

उनीहरू त हामी भन्दा धेरै धनी छन् । धनीलाई त धनले कहिल्यै पुगेको हुँदैन है । अँ सबैभन्दा पहिला बिहानै उठेर नुहाएर , तुलसीलाई पानी चढाएर मात्र चिया बनाउनु, खानु बुझिस् ।आमाले भनेजस्तै आज उसले नुहाएर तुलसीलाई पानी चढाइ र भान्सा कोठामा पसी ।

भान्सा कोठामा सानीमा सासू  ,सासुआमा, नन्दहरू बसेर चिया खादै थिए । उसलाई देख्ने बित्तिकै सानीमा सासूले सोधिहालिन्, “ए बुहारी तिमीले सुन चाँदीको पोका चाहिँ अलग्गै राखेकी होलाउ होइन ?”

उसले अकमक्क पर्दै भनी, “के भन्नु भाको सानीमा मैले बुझिनँ…” ।

“ए होइन मेरा बुहारीहरूले त सुन चाँदीका पोका अलगै लिएर आएका थिए नि त त्यसैले सोधेकी”, सासूले निक्कै ठुलो स्वरले थपिन्, “अन्त हाम्री ठुली बुहारीले पनि त थोरै ल्याएकी थी त सुन ,हामीलाई ढोग्दा सबैलाई सुनै राखेर ढोगेकी ।”

सासूको कुरा पुरा नभई नन्दले भनिहालिन्, “भाउजूले पनि त सुनै राखेर ढोग्नु पर्यो नि अब सबैलाई होइन आखिर दादाको पनि त मान सम्मानकाे कुरा छ ।”

नीराको अनुहार अँधेरो भयो उसले बाबुको  रुन्चे अनुहार झट्ट सम्झी, कहाँबाट दिन सक्नु सबैलाई सुन ।

दिउँसो फुर्सतको समय पारेर उसले सबै कुरा मोहनलाई भनी तर उसले सोचे विपरीत मोहनले रुखो जबाफ दियो, “त्यो त तिमीले जिन्दगी भरि सुन्नु पर्छ यहाँ , भाउजुहरुले यो घरमा आउँदा मनग्गै लिएर आएका छन् सुन चाँदी , अन्त घरकाले भन्छन् नि तिमीलाई ।”

अनि तिमीचाहिँ के भन्छौ मोहन  ?” उसले मोहनलाई प्रश्न गरी  ।

“म के भन्नु  ? तिम्रा बाउ आमाले पनि केही दिएनन् तिमीलाई, खाली हात पठाए । दिनु त पर्ने हो नि छोरीलाई ।”

नीराको टाउको घुम्यो उसले यो घरमा आफ्नो भविष्य अँध्यारो देख्न थाली ।

त्यस रात, रातभरि नीरालाई निद्रा लागेन ।आफ्नो छेउमा एउटै खाटमा सुतेको आफ्नो प्रिय मोहनलाई नीराले त्यस रात पटक पटक फर्किँदै हेरी , ‘सधैँ मुस्कान मात्र पस्किने मोहनको हँसिलो मुहारमा नीराले आज सम्पतिको कालो ध्वाँसो बाहेक अरू केही देखिन’ ।

बिहानको मिरमिरे हुनै लाग्दा बाबुले दिएको एकसरो लुगाको भरमा नीराले सदा सदाको निम्ति मोहनलाई मनैदेखि त्यागी दिई ।।

कमला लम्साल, सिलगढी