“डार्लिङ आऊ‚ आज बर्नमाउथ बिचमा मस्ती गरौं,” सचिवको छोराले आफ्नी गर्ल फ्रेन्डसमेत रहेकी मन्त्रीकी छोरीलाई गरेको भिडियो कल रिसिभ नभएपछि टेक्स्ट म्यासेज पठायो ।
“बेबु‚ म तिमीलाई लन्च टाइममा कल गर्छु है,” उताबाट यस्तो लेखिएको सन्देश प्राप्त भयो ।
बेलायत यतिखेर गर्मीले धपक्क बलेको छ । त्यहाँका स्वास्थ्यमन्त्रीले मानिसहरूलाई सामाजिक दूरीको पालना गर्न र समुद्री बिचहरूमा भिडभाड नगर्न आग्रह गरे पनि त्यसलाई धेरैले टेरेका छैनन् । बाध्य भएर सरकारले स्वास्थ्य सावधानीको पालना नभए “गैरजिम्मेवार र स्वार्थीहरूको भीड” लाग्न नदिन बिचहरू बन्द गर्ने चेतावनी दिनुपरेको छ ।
हाम्रो नेपालका मन्त्री र सचिवका छोरा र छोरीहरू पनि त्यहीँ छन् पढ्ने बहानामा । खासमा उनीहरू पढाइ कम तर मोजमस्ती ज्यादा गर्छन्; दुवै नवधनाढ्यका सन्तान जो परे ! राजधानी काठमाडौंको ब्रिटिस कलेजमा सँगै ‘ए लेभल’ पढ्दा अङ्कुराएको ती दुईको प्रेम नेपाल छाड्ने बेलासम्ममा अपरिपक्व नै थियो तर नेपाल छँदै अङ्ग्रेजी संस्कृतिको हावा लागिसकेका तिनीहरूलाई बेलायती जीवनशैलीले उन्मुक्ति दिएको छ प्रेम मौलाउने र अभिव्यक्त गर्ने ।
सचिवको छोराको एप्पलको आइफोनमा स्काइपमा भिडियो कल आएको सङ्केत धुन बज्छ । “बेबु‚ आज अलिक बिजी थिएँ तर तिमीले भन्छौ भने म आउँछु,” उताबाट मन्त्रीकी छोरीले ह्याम्बर्गरसँग बियरको चुस्की लगाउँदै भन्छे‚ “तिमी आइसबक्समा ड्रिङ्क्स राखेर लेराउनू‚ म स्न्याक्स ल्याउँछु ।”
दिनभरि ती दुईले बिचमा खुब मस्ती लुटे र साथमा गरे नेपालको बद्ख्वाइँ । बेलायत कोरोनाको कहरले आक्रान्त हुँदा पनि आफूहरू यसरी निस्फिक्री भई बिचहरूमा घुम्न पाएको‚ वैयक्तिक स्वतन्त्रताको उच्चतम उपभोग गर्न पाएको तर नेपालले त्यति लामो समय भयानक ‘लकडाउन’ गरे तापनि भाइरस झन् भित्रभित्रै फैलिइरहेको भन्दै मजाक उडाए । अहिले झन् ‘लुजडाउन’मा स्थिति भयावह भएको भन्दै सरकारी तैयारीमाथि व्यङ्ग्य गरे । तर तिनीहरूले के सोच्न सकेनन् भने व्यङ्ग्य तिनीहरूका आफ्नै बाबुहरूको भइरहेको थियो किनभने राजनीतिक भर्ति र सार्वजनिक प्रशासन दुवैतिर तिनीहरूकै बाबुहरू नेतृत्व तहमा थिए ।
आफ्ना छोराछोरीले फेसबुक तथा इन्स्टाग्राममा बिचबाट पोस्टिएका फोटो र भिडियोहरू नेपालमा तिनका आमाहरूले भोलिपल्ट बिहानमात्रै देख्न पाए (किनकि उनीहरूले तस्बिर पोस्टिँदा नेपालमा मध्यरात भइसकेको थियो) र छोराछोरीको प्रीति देखेर दङ्ग परे । तर मन्त्री र सचिव बाबुहरू भने केके जाति मिटिङ भन्दै दिनभरि व्यस्त रहे । दिनभरिको भागदौडपछि मन्त्रालयमै गुपचुप तरिकाले राखिएको बुफे डिनरपछि मन्त्री र सचिव दुवैले ह्विस्कीको चुस्की लिँदै ‘भित्री भलाकुसारी’ पनि गर्न भ्याए । यो ‘गुपचुप बुफे पार्टी’मा मन्त्री र सचिवको ‘भलो चिताउने ?’ केही पत्रकारहरू पनि सामेल थिए किनभने आज डिल फाइनल भएको ठेक्काको कमिसन तिनीहरूसम्म पनि पुग्नेवाला थियो । अघिल्लो पटक भनेजति हिस्सा नपाउँदा तिनीहरूले मन्त्री र सचिवलाई आच्छुआच्छु खेलाएका थिए । पहिले मिलिजुली सरकार छँदा पनि पद हत्याउन सफल भएको मन्त्रीले वर्तमान सरकारमा पनि मन्त्री बन्न सफल भएपछि त्यस समय सहसचिव रहेको यस सचिवलाई हित्तचित्त मिल्ने हुँदा विधि र प्रक्रिया मिचेरै आफ्नो मन्त्रालयमा तानेको थियो ।
अलिक फुर्सद पाएका हुनाले अहिले दुवैले फेसबुक नोटिफिकेसन चेक गर्ने मौका पनि पाए । कुटिल हाँसो हाँस्दै सचिवले आफ्नो छोरा र मन्त्रीकी छोरीको बर्नमाउथ बिचको मस्तीका फेसबुक फोटाहरू देखायो । ती दुईको दिनभरिको कर्मचारी प्रशासक र राजनीतिक प्रशासकको सम्बन्ध बुफे डिनरपछि जारी मदिरा पानसँगै मेटिइसकेको थियो । आफ्नी छोरीको सचिवका छोरासँगको गहिरिँदो सम्बन्धप्रति इङ्गित गर्दै मन्त्रीले सचिवलाई भन्यो‚ “ए सचिव‚ आज सदर भएको सामान खरिदको टेन्डरबाट आउने कमिसनमा मलाई दश प्रतिशत हिस्सा बढाऊ है ।”
“किन मन्त्रीज्यू ? तिमी हाम्रो पूर्वसर्तलाई भुल्देछौ है !” सचिवले जङ्गिँदै ह्विस्कीमा दुई टुक्रा आइस थप्यो ।
मन्त्रीले सचिवको मुखैमा उसको चोर औंलो लगेर स्वर सानो पार्न सङ्केत गर्यो र भन्यो‚ “मेरी छोरी लाने तिम्रै छोराले हो क्यारे; दाइजो चाहिन्न र तिमीलाई ?”
“मन्त्रीज्यू‚ तिमी हदभन्दा बाठो भइसक्यौ,” सचिव हाँस्यो ।
“तिमी कर्मचारीहरूले त सिकाएको हो नि‚ ‘जाँठा’ हो !” मन्त्रीले बोलीमा लत्तो छोड्यो ।
अलिक पर बसेर तिनका हाकिमहरू कतिखेर उठ्लान् र तिनलाई घर पुर्याएर आफ्ना घर गई सुत्न पाइएला भनी ढुकी बसेका तिनका ड्राइभरहरूले ‘जाँठा हो’ भनेको सुने र सबै कुरा नबुझे पनि हाँसेँ, घृणायुक्त हाँसो । एक्लै पर बसी सुरापान गरिरहेको मन्त्रीको पिए भने दङ्ग थियो; आजको डिलको थुकछिटो मात्रै उछिट्याउन पाए पनि काठमाडौंमा कतै घडेरी जोड्न पाइने लालसाले ।
मन्त्री र सचिव दुवैका पत्नीहरू सरकारी निवासमा पर्खिरहेका थिए, साँझको भूजाका निम्ति श्रीमानहरूलाई । उसो त मन्त्रीज्यूको पिए र सचिवको ड्राइभरले दुवै जनाका श्रीमतीहरूलाई तिनका हाकिमहरू बाहिरै ‘डिनर’ गरेर आउने हुनाले अलिक अबेर हुनसक्ने जानकारी गराएका थिए । तर पनि पत्नीहरूलाई यसैगरी पर्खाउने बानी पारिएको थियो ।
लर्खरिँदै गाडीबाट झरेका सचिवज्यूलाई शयनकक्षसम्म छोडेर तिनको ड्राइभर साइकलमा हान्नियो आफ्नो डेरातिर ।
“हजुर भूजा अलिकति पनि नखइस्सिने ?” सचिवज्यूकी पत्नीले दबेको स्वरमा सोधी । सोध्न मन त उसलाई आज भएको ठेक्कापट्टा पनि मन्त्री र सचिवकै इन्ट्रेस्टवाला कम्पनीले पाएको भनी दिउँसैदेखि मिडियामा आएको खबरबारे पनि थियो तर आँट गरिन ।
तर आज सचिवज्यूको चेहरा खुलेको थियो‚ “तिमी खाऊ” भन्यो नभए बिचरीले कति थोक सुन्नुपर्थ्यो । सचिवकी पत्नी पतिका लुगा खोलिदिएर भान्सातिर लागी । एकैछिनमा टबेल बेह्रेको सचिव पत्नीलाई पछ्याउँदै भान्सामै पुग्यो; खुशी उसमा अटाइनआटाइ भएको थियो ।
“तैंले छोराले मन्त्रीकी छोरीसँग बिचमा घुमेका फोटोहरू हेरिस् ?”
“अँ देखें । यस्तो महामारीमा पनि किन त्यस्तो भिडभाडमा जानुपरेको तिनीहरूलाई !”
“त्यही फोटो हेरेर मुले मन्त्री मलाई ठेक्कापट्टाबाट आउने कमिसन बढा भन्छ । ‘साले’ले मेरो छोरासँग त्यसकी छोरीको बिहे गराइदिनलाई खर्च मागेको अरे,” नशाले चूर सचिवलाई के बोलेँ भन्ने कुराको पनि हेक्का थिएन ।
सचिवज्यूको चेहरा खुश देखेर सचिव पत्नीले हिम्मत गरेर सुझाव दिने आँट गरी‚ “हजुरहरूलाई कति खानु परेको हो ? मिडियामा छ्याप्छ्याप्ती त्यही दश अर्बको चर्चा छ । लेखा समितिले पनि छानबिन गर्दैछ अरे; आज फेरि अर्को ठेक्का पनि…?”
पत्नीलाई हस्तक्षेप गर्दै सचिव उफ्रियो‚ “चुप लाग् ‘जाँठी’; जान्नी हुन्छे ! त्यसरी नखाएको भए तेरो छोराले बर्नमाउथ बिचमा मस्ती गर्न पाउँथ्यो ? तँ सपिङ् गर्न बैंकक जान पाउथिस् ? काठमाडौंमा ठडिन्थे यी तीन तीनवटा आलिसान महल ? बढ्ता हुन्छे । त्यस्ता जाबा लेखा समिति होऊन् कि अख्तियार; पैला पनि पैसाको बुजोले साम्य पारेकै हो यसपालि पनि पारिन्छ ।”
यत्तिकैमा सजिवज्यूको मोबाइलको घन्टी बज्यो । उतबाट मन्त्रीजीले उत्साहित हुँदै बोल्यो‚ “ए सचिव‚ तिम्रो छोरा र मेरो छोरीको जोडी गज्जब मिल्छ अरे; मेरी मन्त्रानीले भनेकी । आउने जनवरीसम्ममा तिनीहरूको पढाइ पनि सकिएला । फेब्रुअरीमा बोलाएर फागुनमा धुमधाम बिहे गरिदिनुपर्छ है तिनीहरूको । अँ सुन‚ मेरो कमिसन दश प्रतिसत पक्का बढाउनुपर्छ है यसपालि । दाइजो त पक्कै चाहिन्छ तिमीलाई‚ हैन ?”
श्रीनगर, सल्यान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।