आँखा चिम्लेर एकछिन आमा नभएको, आमाको न्यानो काख गुमेको कल्पना गर्दा साँच्चिकै मन छियाछिया भयो । चिम्लिएका आँखाहरू अनायाशै रसाए । मुसलधारे पानीमा शरीर भिजेकोजस्तो प्रतित भयो । टाउकोभित्र सारा संसारले एकैपटक थिचेजस्तो, फिल्महरूमा हुने ठूला ठूला युद्घ, बम र बारूदका आवाजहरू आएजस्तो साँच्चिकै मन यसरी अत्तालियो कि के गरुँ के नगरुँजस्तो , यो धर्तीमा टेकेजस्तो नटेकेजस्तो , आँधिबेहेरीजस्तो वेग सहित कताकता भूमरीमा परेजस्तो ।
दशैंका दिन खोला पार गर्न फड्के पार गराई हजुरआमाले अँसुरोको फूल खेलाउन दिइ पुनः दिदीलाई फड्के तार्न खोज्दा चिप्लिएर ८।९ महिनाको दुधे बच्चा छँदै आफ्नी आमालाई गुमाएकी मेरी आमाको कहानी सुन्दा लाग्छ मेरी आमाले आमाको वास्सल्य प्रेम कस्तो हुन्छ भन्ने अनुभूती गर्नै पाइनन् ।
आमाको अत्यन्तै कष्टप्रद, दुःखदायी दिनहरू बितेको कुरा कोही कसैले सुनाउँदा पनि आमाकाप्रति व्यक्त गर्ने शब्दनै पाउँदिन । जीवनमा धेरै संघर्ष ,दुःख र पीडाबोध गरेकी मेरी आमाले खुशी, शुख, र आनन्दको बसाई कस्तो हुन्छ भन्ने अनुभूति सायदै गरेकी छैनन् । तरपनि आफ्ना पीडाहरूलाई छाँयामा राखेर मेरी आमाले छोराछोरीको मुस्कानलाई आनन्द र खुसी ठानिन् ।
अभावै अभावको जीन्दगीमा केही खुसी बटुल्नको लागि बाबाले ठूलो त्याग र संघर्ष गर्नुभयो । कहिले जंगलमा आरा चलाउने त कहिले मुगलान पसेर २।४ पैसा कमाउने गर्दागर्दै आफ्नो माटोमा बसेर पौरख गर्ने सोचका साथ पसल गर्न थाल्नुभयो । बाबाको एक्लो संघर्षलाई साथ दिनको लागि मेरी आमा पनि सँगै हुनुभयो । गाउँमा अहिलेजस्तो घरघरमा खानेपानी थिएन । खोलाको पानी पिउनुपर्ने बाध्यता थियो । खाना पकाउनको लागि अहिलेजस्तो घरघरमा ग्याँस थिएन आमाले दिनभरी वनमा गएर डोकाभरी दाउरा खोजेर ल्याई सुइय गर्दै पानी समेत नपिई पेटीमा टुसुक्क बस्दै बहिनीलाई अमृत पिलाएको सम्झिँदा त्यतिखेर अरू केही गर्न नसकेपनि आमा तिर्खा लागेको होला ल पानी पिउनुस् भनेर भनेको भए आमाको त्यो हृदय कति रसाउँथ्योहोला । आमाको दिनभरीको थकाई पक्कै पनि एक निमेशमै दुर हुन्थ्यो होला । यस्तै घरघरमा सौचालय थिएन । खोलाको किनारमा कतै छेल पारेर सौचालय जानुपर्ने त्यो पनि झिसमिसेमा ।
बिहानै झिसमिसेमै उठ्ने सौचालयका लागी खोलामा जाने र फर्केर आउँदा बाल्टीमा खानेपानी ल्याउने बाबाको नित्यकर्म थियो । एकदिन सधैं आउने समयभन्दा अबेर भएको आमाले सोचिरहेकै बेला खोलाको नजिक ठूलो आवाजका साथ पहिरो गएको सुनिसकेपछि आमा झसङ्ग हुनु भएछ र खोलातिर जाने विचार गर्नु भएछ । वर्षाको समय रातभरी मेघगर्जन सहित पानी परिरहेकोले खोला सधैंभन्दा ठूलो आएको रहेछ । आमा बाबालाई खोज्न जाने क्रममा पानी ल्याउने ठाउँमा खाली बाल्टी देख्नुभएछ । अनि शौचालय गर्ने ठाउँतिर पनि सबै सुनसान नै देख्दा अलि आत्तिनु भएछ ।
यताउती चारैतिर नजर लगाउँदा कतै नदेखेपछि त्यसमाथि अझै पहिरोले खोला झन् यतै यतै आएको देखिसकेपछि मनमा के के अनेकथरी सोच्नु भएछ ओठ तालु सबै चिसा भएछन् । बाल्टी माथि नै छ । शौचालयको लागि आएको मान्छे सौचालय गर्दैगर्दा बढेको खोलाले लगेहोला भन्ने कमजोर अनुमान गरिसकेपछि हिजो ८।९ महिनामा मलाई मेरी आमाले छोडेर गइन । जसोतसो यो जिन्दगी कटाइरहेकी थिएँ । आज मेरा श्रीमानले पनि मलाई छोडेर गए अब म के का लागि बाँच्नु, किन बाँच्नु ? म पनि उनैलाई भेट्न जान्छु यो दुनियाँमा मेरो के नै छ र ? को नै छ र भन्ने अनेकन तर्कनाहरू मनमा खेलाउँदै अब यो संसारबाट टाढा हुन मेरी आमा खोलामा फाल हाल्नका लागि ढुङ्गामा चढिसकेपछि हाम फाल्नै लाग्दा कताकताबाट घरमा सुतिरहेका १ छोरा र २ छोरी सम्झिनु भएछ । हिजो सुत्ने बेलामा बाबाआमासँगै सुतेका छोराछोरी बिहान उठ्दा न बाबा छ न आमा छ, बाबा आमा भन्लान् कसैको आवाज नसुन्दा ती अबोध बच्चाहरूको सहारा को होला, ती केटाकेटी के गर्लान् , उठेपछि के खालान् कसो गर्लान् भन्ने सोचाई अकस्मात् आएपछि त्यो फाल हाल्न उक्लेको ढुङ्गाबाट तल्तिर झरी रन्थनिदैं माथि पानी लिन राखेको बाल्टीनिरै आएर मुर्छित हुनुभएछ ।